परिवारमाथि नै खुकुरी प्रहार, एकको मृत्यु, दुई गम्भीर

श्रावण १३, २०८२ | जनकपुर

धनुषाको जनकपुरमा खुकुरी प्रहार गरी एक किशोरीको हत्या गरिएको छ । श्रीमतीको हत्या अभियोगमा ५ वर्ष कारागार बसेका एक व्यक्तिले सोमबार राति अर्काको घरमा पसेर अन्धाधुन्द खुकुरी प्रहार गर्दा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते छन् । 

जनकपुर–४ स्थित स्वर्गीय सूर्यनन्द चौधरीको एक तल्ले घरको एउटै कोठामा डेरा गरी बस्ने क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहले सोमबार राति करीब साढे ११ बजे खुकुरी प्रहार गरेर १५ वर्षीया अञ्जलीकुमारी यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

अञ्जलीको घाँटी काटिएको अवस्थामा शव भेटिएको छ । खुकुरी प्रहारबाट क्षीरेश्वरनाथ–४ मा बस्ने दिनेश यादवकी श्रीमती ३५ वर्षीया आशा यादवको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ । 

मृतक अञ्जली भने आशाकी छोरी हुन् । यस्तै, सोही कोठामा बस्ने मिथिला नगरपालिका–१ ढल्केवर निवासी भोगिन्द्र यादवकी १४ वर्षीया छोरी राधा यादवमाथि पनि साहले खुकुरी प्रहार गरेका छन् । 

खुकुरी प्रहारले राधाको दाहिने घुँडा र दाहिने हात काटिएको छ । उनीहरुको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनापछि साह भने फरार छन् । 

साहले आफ्नै श्रीमतिको हत्या अभियोगमा ५ वर्ष जेल सजाय काटिसकेका छन् । घटनाको अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ । आक्रमणको कारण भने खुलिसकेको छैन । 


प्रतिक्रिया