बागमतीका खानेपानी मन्त्री खड्काले दिए राजीनामा

श्रावण १३, २०८२ | हेटौंडा

बागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाईमन्त्री श्यामबहादुर खड्काले राजीनामा दिनु भएको छ । खड्काले मुख्यमन्त्री बहादुरसिंह लामालाई आजैको मितिदेखि लागू हुनेगरी राजीनामा बुझाउनु भएको हो । 

यसअघि साउन ९ मा प्रदेशका ४ जना मन्त्रीले राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए । यो सँगै मुख्यमन्त्री लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदको संख्या २२ पुगेको छ । 

आफ्नै दलका सांसदबाट संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएसँगै बागमतीका मुख्यमन्त्री एवम् कांग्रेस संसदीय दलका नेता लामा नेतृत्वको सरकार अल्पमतमा परेको छ । 

कांग्रेसका ३७ प्रदेश सांसदमध्ये २२ जनाले अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेका छन् । कांग्रेस प्रदेश सभापति एवं सांसद ईन्द्रबहादुर बानियाँको नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता भएको हो । मुख्यमन्त्री लामा र बानियाँ दुवै कांग्रेस सभापति शेरबहादुर देउवा निकट नेता हुन् ।

यसैबीच, कांग्रेस संसदीय दलको नेताविरुद्धको अविश्वासको प्रस्ताव दर्ता भएपछि हिजो आह्वान गरिएको संसदीय दलको बैठक स्थगित भएको छ । हिजो दिउँसो १ बजे बस्ने भनिएको बैठक आज बस्ने फेरि गरी स्थगित गरिएको संसदीय दलको कार्यालयले जनाएको छ । 

मुख्यमन्त्री लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्तापछि विवाद मिलाउन हेटौंडा पुगेका केन्द्रीय सदस्य राजेन्द्रकुमार केसी, मुख्यमन्त्री लामा र बानियाँसँगको संयुक्त छलफलपछि बैठक आजका लागि सारिएको स्रोतले जानकारी दिएको छ ।


प्रतिक्रिया