भोटेकोशीमा बाढी, सर्तकता अपनाउन अपिल

श्रावण १४, २०८२ | रसुवा
भोटेकोशी नदीमा एक्कासी बाढी आएको छ । चीनको तिब्बत हुँदै रसुवागढी आइपुग्ने भोटेकोशी नदीमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ ।
भोटेकोशीमा बिहान २ बजेतिर एक्कासी पानीको बहाव बढेपछि तल्लो तटीय क्षेत्रका स्थानीयलाई सर्तकता अपनाउन आग्रह गरिएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बताउनुभयो ।
नदीमा आएको बाढीले रसुवागढी नाकामा चिनियाँ पक्षले बेलिब्रिज राख्नका लागि बनाउँदै गरेको बाटो पनि बगाएको उहाँले जानकारी दिनुभयो । गएराति पानी परेपनि अहिले भने रसुवामा पानी नपरेको उहाँको भनाई छ ।
बाढीले टिमुरेस्थित भन्सार यार्डमा रहेको धर्मकाँटा पनि बगाएको छ । सोमबार जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै रसुवा भई बहने भोटेकोशी, त्रिशूली, लाङटाङ र चिलिमे खोलामा बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको थियो ।
नुवाकोट जिल्ला प्रशासन कार्यालयले पनि त्रिशूली नदीमा जलसतह बढेको र आकस्मिक बाढी आएको रसुवाबाट जानकारी प्राप्त भएको उल्लेख गर्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।
जल तथा मौसम विज्ञान विभाग र चिनियाँ पक्षबाट समेत आगामी केहीदिन त्यस क्षेत्रमा भारी वर्षाका कारण नदीमा बहाव बढ्न सक्ने जानकारी आएको उल्लेख गर्दै प्रशासनले सावधानी अपनाउन आग्रह गरेको छ । गत असार २४ गते भोटेकोशीमा आएको बाढीले नेपाल र चीनतर्फ ठूलो क्षति पु¥याएको थियो ।