बागमतीमा कांग्रेस संसदीय दलको नेता छान्न आज निर्वाचन

श्रावण १४, २०८२ | मकवानपुर
बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदैछ । मुख्यमन्त्री बहादुर सिंह लामा कांग्रेस संसदीय दलको नेताबाट पदमुक्त भएसँगै नयाँ नेतृत्व चयनका लागि मतदान हुन लागेको हो ।
मुख्यमन्त्री लामाले प्रदेश कांग्रेस संसदीय दलको नेताको हैसियत गुमाएसँगै प्रदेश सरकारको भविष्य थप अन्योलमा परेको छ । लामाविरुद्धको अविश्वासको प्रस्तावमा हिजो भएको मतविभाजनमा कांग्रेसका ३७ मध्ये २२ जना सांसदले अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेका थिए । १५ जना भने विपक्षमा उभिएका थिए ।
नयाँ संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति गठन भएको छ । कांग्रेस प्रदेश कार्यसम्पादन समितिले प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाएको हो । निर्वाचन समितिमा प्रदेश सहमहामन्त्रीद्वय ऋषिराम घिमिरे र जीवन डंगोल सदस्य तोकिएको छ ।
निर्वाचन समितिले बिहान ८ बजे मतदाता नमावली प्रकाशन गरेको छ भने दिउँसो २ बजेदेखि मतदानको समय तोकेको छ । अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गर्ने कांग्रेस प्रदेश सभापति तथा प्रदेश सांसद इन्द्रबहादुर बानियाँ पक्षधरका रहेका छन् ।
यसअघि २०७९ पुस १३ मा भएको दल नेताको निर्वाचनमा भने लामाले कांग्रेस प्रदेश सभापति बानियाँलाई ५ मतले पराजित गर्नु भएको थियो । बानियाँकै नेतृत्वमा लामाविरुद्ध यस पटक अविश्वास प्रस्ताव दर्ता गरिएको थियो ।
बागमतीमा मुख्यमन्त्री परिवर्तनका लागि कांग्रेसका पाँच मन्त्रीले राजीनामा समेत दिएका थिए । साउन ९ मा चार मन्त्रीले राजीनामा दिएकामा हिजो खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले पनि राजीनामा बुझाउनु भएको थियो । लामाले संसदीय दल नेताको हैसियत गुमाए पनि मुख्यमन्त्री पदबाट राजीनामा नदिने बताउनु भएको छ ।