कुलिङ अफ पिरियडमा भएको गडबडीबारे संसदीय समितिको प्रतिवेदन भोलि पेश हुने

श्रावण १८, २०८२ | काठमाडौं
संघीय निजामती सेवा विधेयकमा गरिएको गडबडीबारे छानविन गर्न गठित संसदीय समितिले आफ्नो प्रतिवेदन प्रतिनिधिसभामा भोलि बुझाउने तयारी गरेको छ । पछिल्लो पटक ७ दिनका लागि थपिएको समयावधिभित्र प्रतिवेदन तयार पारेर संसदमा पेश गर्ने तयारी भएको हो । समयावधिको अन्तिम दिन आज समितिले प्रतिवेदनलाई अन्तिम रुप दिने गृहकार्य गरिरहेको छ । समिति सभापति जीवन परियारले प्रतिवेदन भोलि प्रतिनिधिसभाको बैठकमा पेश गरिने बताउनुभयो ।
समिति स्रोतका अनुसार कुलिङ अफ पिरियडको प्रावधान राख्ने गरी भएको राजनीतिक सहमति विपरित नियतवश गोलमाल गरिएको निष्कर्षमा समिति पुगेको छ । कुलिङ अफ पिरियडमा गडबडी गर्ने कार्यमा संलग्नलाई गर्ने कारवाही सिफारिस लगायत विषय टुंगो लाग्न बाँकी रहेको बताइएको छ । समिति सभापति परियारले आफूहरुलाई प्राप्त कार्यादेश अनुसार प्रतिवेदनका लागि काम भइरहेको बताउनुभयो ।
गत असार २३ गते गठित समितिलाई सुरुमा २१ दिनको समय दिइएकोमा काम नसकिएपछि एक हप्ता थपिएको थियो । छानविन समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई–दुई तथा माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक–एक जना सदस्य छन् । एक साता बढीको स्थगनपछि प्रतिनिधिसभाको बैठक भोलिका लागि बोलाइएको छ ।