एकीकृत समाजवादीका शीर्ष नेताबीचको विवाद सतहमा

श्रावण १७, २०८२ | काठमाडौं
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानीत नेता झलनाथ खनालबीचको विवाद सार्वजनिक रुपमा सतहमा आएको छ ।
केपी शर्मा ओली नेतृत्वको एमालेबाट विभाजन भइ बनेको पार्टीका शीर्ष नेताबीचको विवाद सतहमा आएको हो । नेता खनालले एमालेबाट पार्टी विभाजनको औचित्य पुष्टि हुन नसकेको बताएपछि विवाद सतहमा आएका हुन् । दुई नेताबीच पार्टी विभाजनको औचित्य र उद्देश्यलाई लिएर घोचपेचको अवस्था नै सृजना भएको छ । सम्मानीत नेता खनालले आज पत्रकार सम्मेलन गर्दै पार्टी विभाजन गर्नुको औचित्य पुष्टि हुन नसकेको बताउनुभयो ।
केही दिनअघि एक अन्तर्वाताका क्रममा नेता खनालले दिएको अभिव्यक्तिलाई लिएर पार्टी अध्यक्ष माधव नेपाले हिजो विराटनगरमा नेता खनालको भूमिकालाई लिएर प्रश्न उठाउनुभएको थियो । पार्टी छाड्न निर्देशन आएपनि सो निर्णय आफूलाई मान्य नहुने भन्दै नेता खनालले अध्यक्षको कार्यशैलिलाई लिएर प्रश्न उठाउनुभयो ।
यसैबीच पत्रकार सम्मेलनका क्रममा नेता खनालले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको सक्रिय राजनीतिमा आउन देखाएको सक्रियता स्वाभाविक भएको बताउनुभयो । राजनीतिक पृष्ठभूमि भएको व्यक्तिलाई पुनः राजनीतिमा आउन समस्या नहुने उहाँको भनाइ छ ।
पूर्वराष्ट्रपति भण्डारीले एमालेको राजनीतिमा फर्किने घोषणा गरेपनि केही दिन अघि बसेकोे पार्टीको बैठकले भने आउन नदिने निर्णय गरेको छ ।