माओवादी केन्द्रको स्थायी समिति बैठक समापन, आत्मालोचना गर्न जनार्दनको अस्वीकार

श्रावण १९, २०८२ | काठमाडौं

माओवादी केन्द्रले पार्टीभित्रको असन्तुष्टी र नेतृत्वप्रति नेताहरुको विमत्तिको विषयलाई कायम राख्दै स्थायी समिति बैठक समापन गरेको छ । अध्यक्ष पुष्पकमल दाहालको कार्यशैली र पार्टीको अवस्थाबारे फरक कित्तामा उभिएका उपमहासचिव जनार्दन शर्माले उठाएका सवाल लगायत विषय महाधिवेशनमा लैजाने माओवादी केन्द्रले जनाएको छ । तीन दिनसम्म चलेको स्थायी समिति बैठकले पार्टीभित्रको गुट–उपगुट अन्त्य गर्ने निर्णय गरेको माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकोटाले बताउनुभयो ।

स्थायी समिति बैठकमा बोल्दै उपमहासचिव शर्माले नेतृत्वबारे आफूले उठाएका विषयमा आत्मालोचना गर्न अस्वीकार गर्नुभएको थियो । अध्यक्ष दाहाल पक्षीय बहुमत संख्याका नेताले आत्मालोचनाका लागि शर्मालाई आग्रह गरेपनि उहाँले अस्वीकार गर्नुभएको हो । त्यसपछि माओवादीले सो विषयलाई पार्टीको विधि र नियमवाली अनुसार अघि बढाउने नीति लिएको छ । प्रवक्ता सापकोटाले वैचारिक विषय लगायत सबै सवालबारे महाधिवेशनमा छलफल हुने बताउनुभयो ।

उपमहासचिव शर्माले विशेष महाधिवेशनको माग गरेपनि माओवादीले त्यसलाई अस्वीकार गरेको छ भने केन्द्रिय कमिटी बैठक पनि दशैंपछि मात्र गर्ने भएको छ । यसैबीच, माओवादी केन्द्रका अध्यक्ष दाहालले पार्टीभित्रको गुटबन्दी अन्त्य भएको बताउनुभएको छ । आन्तरिक विवाद मिलेकाले अब जनतामाझ पुग्ने दाहालको भनाइ छ ।

अध्यक्ष दाहालप्रति व्यापक असन्तुष्टी राखेका उपमहासचिव शर्माले बैठकमा सबै विषयमा गम्भीर बहस भएको बताउनुभएको छ ।

माओवादी स्थायी समितिले समसामयिक राजनीतिक अवस्था लगायतबारे २६ बूँदे निर्णय गरेको छ । पार्टीभित्र असन्तुष्टी बढ्दै जाँदा माओवादीको यो बैठकलाई महत्वका साथ हेरिएको थियो । 


प्रतिक्रिया