राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा संसद् बैठक बहिष्कार

श्रावण १९, २०८२ | काठमाडौं

विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भिजिट भिसा प्रकरण लगायत विषयमा संसदीय छानविन समितिको माग गर्दै प्रतिनिधिसभा बैठक बहिष्कारलाई निरन्तरता दिएका छन् ।

 आफूहरुको मागमा सरकार र संसदको नेतृत्वले चासो नदिएको भन्दै उनीहरुले आफ्नो धारणा राखेर बैठक बहिष्कार गरेका हुन् । रास्वपा र राप्रपाको कदमलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच आरोप प्रत्यारोप समेत चलेको छ । रास्वपाका सांसद असिम शाहले भिजिट भिसा प्रकरणबारे आफूले उठाएको विषय सम्बोधन नभएको भन्दै आपत्ति जनाउनुभयो ।

अर्को विपक्षी दल राप्रपाका सांसद ध्रुवहादुर प्रधानले समस्या समाधानका लागि सभामुख देवराज घिमिरेले पहल नगरेको गुनासो गर्नुभयो । सभामुख पनि सत्तापक्षीय देखिएको उहाँको भनाइ थियो ।

दुई दलले बैठक बहिष्कार गरेपनि प्रतिनिधिसभा बैठक सञ्चालन गरिएको थियो । बैठकमा बोल्दै नेपाली कंग्रेसका सांसद श्याम घिमिरेले भिजिट भिसालाई मानव तस्करीसँग जोडेर गलत प्रचार गरिएको भन्दै आपत्ति जनाउनुभयो ।

बैठकमा संवैधानिक परिषद् सम्बन्धी विधेयकबारे राष्ट्रपतिबाट प्राप्त सन्देशको जानकारी गराइएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले सो विधेयक प्रमाणिकरण नगरी पुर्नविचारका लागि संसदमा फिर्ता पठाउनुभएको थियो । 


प्रतिक्रिया