प्रतिनिधिसभामा मन्त्रालयगत प्रश्नोत्तर कार्यक्रम

श्रावण २०, २०८२ | काठमाडौं

सरकारले प्रतिनिधि सभाबाट ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ पारित गर्ने तयारी गरेको छ । आजको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र पारित गर्ने कार्यसूची रहेको छ । 

बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ । यस्तै, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

प्रतिनिधि सभामा आज मन्त्रालयगत प्रश्नोत्तर कार्यक्रम हुँदैछ । बैठकमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।


प्रतिक्रिया