मदन भण्डारी फाउन्डेसनप्रति ओलीको संशय किन ?

Photo Credit: Madan Bhandari Foundation 

श्रावण २६, २०८२ | काठमाडौं

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनको बिषयमा अर्थपूर्ण अभिव्यक्ति दिएका छन् । मदन आश्रित फाउन्डेसन नवनिर्वाचित पदाधिकारीको शपथ कार्यक्रममा बोल्दै ओलीले मदन भण्डारी फाउन्डेसनको गतिविधिप्रति सशंय व्यक्त गरेका हुन् । सक्रिय राजनीतिमा फर्किने घोषणासँगै पूर्व राष्ट्रपति विद्या देवी भण्डारीले सोही फाउन्डेसनको नाममा आफ्नो गतिविधि अघि बढाउने योजना बनाइरहेका बेला एमाले अध्यक्ष ओलीको पछिल्लो अभिव्यक्तिले एमाले वृत्तलाई तरंगित बनाएको छ ।

मदन भण्डारी फाउन्डेसनका संरक्षक समेत रहेका एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओली ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सोमवार मदन आश्रित फाउन्डेसनका निर्वाचित अध्यक्ष प्रदीप ज्ञवालीको शपथ कार्यक्रमका लागि पुगेका थिए । विगतमा पार्टीभित्र संस्थापन पक्षसँग वैचारिक र संगठनात्मक मुद्धामा फरक कित्तामा रहँदा तत्कालिन उपाध्यक्ष विद्या भण्डारीसँगै रहेर मदन भण्डारी फाउन्डेसनलाई सक्रिय बनाएका उनै ओलीले अहिले आएर सो फाउन्डेसनप्रति सशंय व्यक्त गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । आठौं महाधिवेशनमा झलनाथ खनाल अध्यक्ष निर्वाचित भएपछि भण्डारी र ओलीले गुटको राजनीतिका लागि फाउन्डेसनलाई प्रयोग गरेको आरोप लागेको थियो । फाउन्डेसनका पदाधिकारीको नाम नलिई ओलीले मदन भण्डारी फाउन्डेसनबारे भने– “यति हो कि मदनका विचारसँग असहमत भएर पाखण्डी व्यवहार देखाउनेहरूको ग्रीपमा नगएको मात्र हो, त्यो पार्टीको पक्षमा र आन्दोलनको नै बनेको संस्था हो । तर, कसरी अगाडि जान्छ हेर्नुपर्ने अवस्था बनेको छ । पदाधिकारीका अभिव्यक्ति र चक्रपथ भन्ने अनलाइनको प्रस्तुति आदि हेर्दा त्यो कसरी जाने हो भन्ने अन्योल छ ।”

ओलीले उल्लेख गरेको चक्रपथ डटकम नामक अनलाइनमा पछिल्लो समयमा पूर्वराष्ट्रपति भण्डारीको पक्षमा सामाग्रीहरु प्रकाशित भइरहेको पाइन्छ । सो अनलाइनमा “पूर्व राष्ट्रपति भण्डारीको सक्रियता: अधिकार र अपेक्षाको सवाल”, “ओलीले लेखेका विचारहरूदेखि ओलीले मिचेका व्यवहारसम्म”, “एमालेको निर्णय : लोकतन्त्रमाथिको नाकाबन्दी”, “विद्या भण्डारीलाई रोक्ने प्रयास राजनीतिक असहिष्णुताको संकेत” तथा “रोकिनु हुन्न विद्या” लगायत शीर्षकका आलेखहरु प्रकाशित भएका छन् । ती सामाग्रीलाई इंगित गर्दै ओलीको अभिव्यक्ति आएको देखिन्छ । 

एमालेले पार्टी राजनीतिमा फर्किन नदिने निर्णय गरेपछि पूर्व राष्ट्रपति भण्डारी मदन भण्डारी फाउन्डेसनमार्फत् अघि बढ्ने तयारीमा लागेको कतिपय नेताले बताएका छन् । त्यसका लागि भण्डारी काठमाडौंको वानेश्वर क्षेत्रमा सम्पर्क कार्यालय खोल्न लागेको विवरण केही दिनअघि मात्र सार्वजनिक भएका थिए । अहिले सो फाउन्डेसनमा भण्डारीकी जेठी छोरी उषाकिरणले अध्यक्षको जिम्मेवारी लिएकी छन् । गत वैशाख दोस्रो साता आयोजित फाउन्डेसनको राष्ट्रिय सम्मेलनले उनीसहितको पदाधिकारी चयन गरेको थियो ।

 सो संस्थाले मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादको विचार, दृष्टिकोणलाई जनस्तरमा पु¥याउने तथा त्यसबारे बहस–विमर्श समेत चलाउँदै आएको छ । त्यस्तै, आगामी बर्ष मदन भण्डारीको हिरक जयन्ती मनाउन घोषणा पनि फाउन्डेसनमार्फत् गरिएको छ । हिरक जयन्ती मूल समारोह समिति गठनको बिषयलाई लिएर समेत एमाले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच असमझदारी उत्पन्न भएको बताइन्छ । यही पृष्ठभूमिमा पार्टीको अर्को फाउन्डेसनको शपथ कार्यक्रममा ओलीले मदन भण्डारी फाउन्डेसन पार्टीले नबनाएको चर्चा गरे । उनले थपे–“मदन भण्डारी फाउन्डेसन पार्टीले बनाएको नभएर अर्को ढंगले बनाइएको हो, मदन आश्रित स्मृति दिवस मनाउन नपाइने, मदन आश्रितलाई श्रद्धाञ्जली दिन नपाइने, जन्मदिन मनाउन नपाइने स्थिति भएपछि, पर्सि जन्मदिन आज विकृतिपूर्ण लेखहरू लिडरसीपबाट लेख्ने र प्रकाशित हुने भएपछि हामीले एउटा संस्था बनाउनुप¥यो । पार्टीप्रति, आन्दोलनप्रति निष्ठासाथ जन्मेको हो ।”

पूर्व राष्ट्रपति भण्डारीसँग असन्तुष्टी बढ्दै जाँदा अध्यक्ष ओलीले अब मदन भण्डारी फाउन्डेसनको कम महत्व दिएर मदन आश्रित फाउन्डेसनलाई अघि बढाउने तयारी गरिएको हुन सक्ने एमालेका एक नेताले बताए । एमालेभित्र वैचारिक र सैद्धान्तिक बहसमा सक्रिय प्रभावशाली नेता एवम् पार्टी उपमहासचिव प्रदीप ज्ञवाली केही दिनअघि मात्र मदन आश्रित फाउन्डेसनको अध्यक्ष सर्वसम्मत चयन भएका थिए । शपथ ग्रहण कार्यक्रममा बोल्दै नेता ज्ञवालीले फाउन्डेसनलाई वैचारिक उत्तराधिकारी तयार पार्ने गरी अघि बढाइने बताए । शपथ ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेताका नाममा सञ्चालित केही प्रतिष्ठान र अध्ययन केन्द्र पार्टी र समग्र आन्दोलनका लागि नभई व्यक्तिगत लाभका लागि प्रयोग गरिएको अभिव्यक्ति समेत दिएका थिए । 

एमालेमा मनमोहन स्मृति प्रतिष्ठान, पुष्पलाल स्मृति प्रतिष्ठान, तुल्सी लाल स्मृति प्रतिष्ठान लगायत संस्था छन् । फरक कित्तामा रहँदा एमालेका नेताले ती प्रतिष्ठानलाई नेता विशेषले गुटको राजनीतिका लागि प्रयोग गरेको आरोप समेत लगाउँदै आएका छन् । 


प्रतिक्रिया