ओली र लेखकसहित ५ जनालाई विदेश भ्रमणमा जान रोक

आश्विन १२, २०८२ | काठमाडौं

गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकसहित पाँच जनालाई विदेश भ्रमणमा जान रोक लगाउन सरकारलाई सिफारिस गरेको छ ।

विदेश भ्रमणमा रोक लगाउन सिफारिस गरिएको सूचीमा निवर्तमान प्रधानमन्त्री ओली र निवर्तमान गृहमन्त्री लेखकसँगै गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका निवर्तमान प्रमुख हुतराज थापा र काठमाडौंका निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि रिजाल हुनुहुन्छ ।

आयोगले उनीहरूलाई स्वीकृती बेगर काठमाडौं उपत्यका पनि छाड्न नपाउने व्यवस्था गर्न समेत भनेको छ । छानविन र जाँचबुझको सिलसिलामा उनीहरू अनुसन्धानको दायरामा रहेको भन्दै त्यस्तो सिफारिस गरेको आयोगको भनाइ छ ।

आयोगका सदस्य विज्ञानराज शर्माद्धारा हस्ताक्षरित विज्ञप्तिमा सो बिषय उल्लेख गरिएको छ । त्यस्तै आयोगले प्रभावकारी रुपमा सम्पादन गर्न विज्ञसहितको जनशक्ति आवश्यक देखिएकाले त्यसको व्यवस्था गर्न गृहमन्त्रालयलाई पत्राचार गर्ने निर्णय समेत गरेको छ ।  


प्रतिक्रिया