जेन जी पुस्ताका अगुवा एकतावद्ध रुपमा अघि बढ्ने तयारीमा

आश्विन १२, २०८२ | काठमाडौं

दुई दिनको आन्दोलनपछि मुलुकको राजनीतिले नयाँ मोड लिएसँगै फरक फरक कित्तामा देखिएका जेन जी पुस्ताका अगुवाहरु एकतावद्ध रुपमा अघि बढ्ने भएका छन् ।

त्यसका लागि उनीहरुले आधिकारिक वार्ता टोली गठन गरेका छन् । जेनजी आन्दोलनको जनादेशलाई संस्थागत गर्नका लागि प्रधानमन्त्रीको रोहबरमा रहेर राष्ट्रपतिसँग सम्वाद गर्न टोली बनाइएको जेनजी प्रतिनिधि प्रवेश दाहालले बताउनुभयो ।

भदौ २३ र २४ गते भएको आन्दोलनपछि जेनजीहरु विभाजित भएको भन्दै टिप्पणी भइरहेका बेला उनीहरुले औपचारिक संयन्त्र तयार पारेका हुन् । उनीहरुले जेन जी पुस्तालाई कसैबाट परिचालित भनी लगाएको आरोपको प्रतिवाद समेत गरेका छन् ।

वार्ता टोलीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र दुई कार्यकाल मात्र प्रधानमन्त्री हुनुपर्ने लगायत माग अघि सारेका छन् ।

वार्ता टोलीका सदस्य दाहालले आफूहरुको अभियानमा जेन जीका अर्का अगुवा सुदन गुरुङको समेत समर्थन भएको दावी गर्नुभएको छ । टोलीमा पुरुषोत्तम यादव, मिराज ढुङ्गाना, बब्लु गुप्ता, किशोरी कार्की, टिकाराम लिम्बु, योग्यता भण्डारी, जेम्स कार्की, कासिफ महम्मद मिया र अर्पित कँुवर छन् । टोलीमा घाइते र शहिद परिवारका तर्फबाट थप तीन जनालाई सहभागी गराइने भएको छ । जेन जी आन्दोलनकी सक्रिय सदस्य रक्षा बम भने सो टोलीमा संलग्न हुनुभएको छैन । 


प्रतिक्रिया