हिजो स्थगित एमाले सचिवालय बैठक आज बस्ने

आश्विन २६, २०८२ | काठमाडौं

नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ । 

अध्यक्ष केपी शर्मा ओली बिरामी भएपछि हिजो स्थगित बैठक आज बस्न लागेको हो । अघिल्लो दिनको बैठकमा लामो समयसम्म बसेकाले ओलीलाई आराम गर्नु पर्ने भएकाले एक दिन बैठक स्थगित गरिएको एमालेले जनाएको छ । 

आजको बैठक बिहान ११ बजे अध्यक्ष ओलीको डेरा गुण्डुमा बस्ने उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो । यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा पार्टीको महाधिवेशन मंसिर अन्तिम साता या पुसको पहिलो साता गर्ने प्रस्ताव तयार पार्ने विषयमा छलफल भएको थियो । 

तीन उपमहासचिव र ६ जना सचिवले धारणा राख्न बाँकी छ । यसअघि बोल्ने अधिकांसले पार्टी पुर्नगठनको पक्षमा धारणा राख्दै नेतृत्वले बाटो खुल्ला गर्नु पर्ने धारणा राखेका थिए । सचिवालय बैठकले पार्टी महाधिवेशनको मिति सहितको प्रस्ताव केन्द्रिय कमिटीमा लैजाने अपेक्षा गरिएको छ । एमालेले आगामी बुधबार केन्द्रिय कमिटीको बैठक बोलाएको छ ।


प्रतिक्रिया