टी–२० विश्वकप छनोटको सुपर सिक्सको पहिलो खेलमा नेपालद्धारा युएई पराजित

आश्विन २६, २०८२ | काठमाडौं

नेपालले आईसीसी टी–२० विश्वकप एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सअन्तर्गतको पहिलो खेलमा विजय हात पारेको छ ।

ओमानको अल एमिरेट क्रिकेट मैदानमा भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स यूएईलाई १ रनले पराजित गरेको हो । 

नेपालले प्रस्तुत गरेको १ सय ४१ रनको लक्ष्य पछ्याएको यूएईले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ३९ रन बनायो । यूएईका लागि अलिशान सराफूले ५८ रनको अर्धशतकीय पारी खेलेपनि त्यो जितका लागि पर्याप्त भएन । 

यस्तै, ध्रुव पराशरले ३८ रन जोडे । अन्तिम ओभरमा १० रन आवश्यक हुँदा बलिङमा आएका दीपेन्द्र सिंह ऐरीलाई ध्रुव पराशरले एक छक्का प्रहार गरेपनि लगत्तै दीपेन्द्रले उनलाई क्याचआउट गराएका थिए ।

 त्यसपछि २ बलमा ३ रन आवश्यक हुँदा अर्को पनि रनआउटसँगै शर्ट रन भएपछि यूएईले कुनैपनि रन जोडेन र १ बलमा ३ रन चाहिँदा यूएईले १ रन मात्र जोड्न सक्यो ।

 नेपालका लागि दीपेन्द्रले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछाने, सोमपाल कामी र गुल्शन झाले १÷१ विकेट लिए । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर आसिफ शेखको अर्धशतकको मद्धतमा निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो ।

 आसिफले ४७ बलमा ५१ रनको अर्धशतकिय इनिङ्स खेले । 

त्यस्तै कुशल भुर्तेलले २८ तथा कप्तान रोहित पौडेले २० रन जोडे । नेपालले सुपर सिक्सको दोस्रो खेलमा भोलि कतारसँग खेल्ने छ । 

बुधबार ओमानसँग खेलेपछि सुपर सिक्सको अन्तिम खेलमा शुक्रबार सामोआसँग खेल्ने कार्यतालिका छ ।  


प्रतिक्रिया