ओली र लेखकविरुद्धको जाहेरी आयोगद्वारा प्रहरीलाई फिर्ता

आश्विन २३, २०८२ | काठमाडौं
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध दिएको जाहेरी जाँचबुझ आयोगले प्रहरीलाई फिर्ता पठाएको छ । जेनजी आन्दोलनपछि भएको मानवीय र भौतिक क्षति पछि अनुसन्धान गर्न बनेको जाँचबुझ आयोगको आज बसेको बैठकले जिल्ला प्रहरी परिसर काठमाडौंलाई नै निवेदन तथा कागजात फिर्ता पठाउने निर्णय गरेको हो ।
यसअघि, काठमाडौं प्रहरीले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले काम गरिरहेको भन्दै जाहेरी आयोगमा नै पठाएको थियो । फौजदारी अभियोगमा विस्तृत अनुसन्धान गरी कसूरदार देखिने अवस्थामा अभियोजन गर्ने कार्य आयोगको क्षेत्राधिकारमा नपरेकाले जाहेरी फिर्ता पठाइएको आयोगका सदस्य विज्ञानराज शर्माद्धारा जारी विज्ञप्तीमा उल्ल्ेख छ ।
तीन दिनअघि ओली र लेखकविरुद्ध चार जनाले दिएको जाहेरी प्रहरीले आयोगमा पठाएको थियो ।