भयरहित वातावरणमा निष्पक्ष निर्वाचन हुने विश्वास दिलाउन सरकारलाई राष्ट्रपतिको निर्देशन

कार्तिक १, २०८२ | काठमाडौं

राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातावरणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन हुने विश्वास दिलाउन निर्देशन दिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसहित भएको छलफलमा चार वटै सुरक्षा निकायका प्रमुखलाई राष्ट्रपति पौडेलले यस्तो निर्देशन दिनुभएको हो । 

उहाँले शान्ति–सुरक्षा कायम गर्न र भयरहित वातावरणमा निर्वाचन गराउन सुरक्षा निकायहरुले साहसीपूर्ण तवरमा प्रस्तुत हुन निर्देशन दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । राष्ट्रपति पौडेलले भदौ २४ गते लुटिएका हतियार र फरार कैदीबन्दीहरुलाई अविलम्ब फिर्ता गर्न पनि आग्रह गर्नुभयो । छलफलमा अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

 उहाँले पूर्ण तयारीका साथ लाग्न र सुरक्षा निकायलाई आवश्यक सम्पूर्ण साधन–स्रोत उपलब्ध गराइने जानकारी दिनुभयो । राष्ट्रपति पौडेलले सुरक्षा निकायका प्रमुखहरुले शान्ति–सुरक्षा कायम गर्ने र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सुरक्षा निकाय सक्षम रहेको उल्लेख गर्नुभयो । छलफलमा अन्तरिम सरकारकी प्रधानमन्त्री कार्की, अर्थमन्त्री बाहेक सबै मन्त्रीहरूका साथै प्रधानसेनापति अशोक सिग्देल, प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की सहभागी थिए ।


प्रतिक्रिया