फागुन २१ गतेका लागि निर्धारित निर्वाचनलाई शंका नगरौं : सञ्चारमन्त्री खरेल

रेडियो कान्तिपुर संवाददाता

मंसिर ९, २०८२ | काठमाडौं

सरकारले फागुन २१ गतेका लागि निर्धारित निर्वाचनलाई लिएर आशंका नगर्न आग्रह गरेको छ । निर्वाचनप्रति विमत्ति राखेका पार्टीले पनि दल दर्ताका लागि निवेदन दिइसकेको र अन्य तयारी समेत अघि बढेकाले चुनावी माहोल बन्दै गएको सरकारको भनाइ छ । 

मन्त्रीपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री जगदिश खरेलले सबै दल निर्वाचनका लागि तयार भइसकेको बताउनुभयो । मन्त्री खरेलले उत्साहजनक रुपमा मतदाता नामावली दर्ता भएको र सुरक्षा प्रवन्ध मिलाउने कार्य अघि बढेको बताउनुभयो ।

 यसैबीच, गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारको अर्जुनदृष्टि निर्वाचनमा भएको बताउनुभएको छ । निर्धारित मितिमा चुनाव गरी निर्वाचित सरकारलाई नेतृत्व हस्तान्तरण गर्न प्रतिवद्ध रहेको उहाँको भनाइ छ । 

भैरहवामा आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले चुनाव हुँदैन भन्नेहरुलाई सरकारले काम र भूमिकाबाट जवाफ दिने बताउनुभयो । उहाँले चुनावबारे अभिव्यक्ति दिंदा गम्भीर हुन दलका नेताहरुलाई आग्रह समेत गर्नुभएको थियो । 


प्रतिक्रिया