एमालेको ११ औं महाधिवेशनः टीम घोषणा गर्ने इश्वर पोखरेलको तयारी
मंसिर ८, २०८२ | काठमाडौं
एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले आफ्नो समूहको टीम घोषणाको तयारी गर्नुभएको छ । ११ औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक जानकारी गराउनुभएका पोखरेलले प्यानल खडा गरेरै चुनाव लड्ने तयारी गर्नुभएको हो । औपचारिक कार्यक्रममार्फत सबै पदका उम्मेदवारको घोषणा एक दुई दिनमै गर्ने गरी तयारी भइरहेको उहाँ निकट एक नेताले बताए । ती नेताका अनुसार पूर्वराष्ट्रपति विद्या भण्डारीको उपस्थितीमा पोखरेलको समूह सार्वजनिक हुनेछ ।
पोखरेलको समूहबाट उपाध्यक्षमा सुरेन्द्र पाण्डे, महासचिवमा योगेश भट्टराई र गोकर्ण बिष्टको नाम चर्चामा छ । उहाँको पक्षमा उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डे, सचिव गोकर्ण बिष्ट, योगेश भट्टराई र रघुवीर महासेठ, विनोद ढकाल, गोकुल बास्कोटा लगायतका नेता खुलेरै लागेको देखिन्छ ।
अध्यक्ष केपी ओलीसँग असन्तुष्ट नेतालाई आफ्नो पक्षमा पार्न पोखरेल समूहका नेताले भेटघाट र छलफल तीव्र पारेका छन् । पार्टीले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता रोकेपछि भण्डारीको समर्थनमा पोखरेललाई भावी नेतृत्वका लागि अघि सारिएको हो । नवौं महाधिवेशनमा केपी ओलीलाई जिताउन भूमिका खेलेका पोखरेल यसपटक भने प्यानलसहित मैदानमा ओर्लिने तयारीमा जुट्नुभएको छ ।
यसअघि ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गर्ने झलनाथ खनाल, माधव नेपाल र भीम रावलले भने पार्टी छाडिसक्नुभएको छ । एमालेको महाधिवेशन आगामी मंसिर २७ गतेदेखि काठमाडौंमा हुँदैछ ।










