भक्तपुरको नलिञ्चोक हेलिप्याड निर्माणमा भ्रष्टाचार

रेडियो कान्तिपुर संवाददाता

मंसिर १७, २०८२ | काठमाडौं

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । भक्तपुरको नलिञ्चोक हेलिप्याड निर्माणमा सार्वजनिक सम्पत्तीको हानीनोक्सानी तथा दुरुपयोग गरेको आरोपमा अख्तियारले अधिकारीसहित ७ जनामाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

अधिकारीसहित निर्देशक मुरारी भण्डारी, उपप्रबन्धक इन्जिनियर समृद्धि श्रेष्ठ, प्रबन्धक नवलविक्रम थापा, अभियन्त्र कन्सलटिङ प्रालि र सो प्रालिका प्रमुख विजय थापा, निजी इन्जिनियर गुरुदत्त अधिकारीलाई प्रतिवादी कायम गरिएको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिनुभयो । 

उनीहरुसँग जनही १३ करोड ५७ लाख ४६ हजार २ सय १३ रूपैयाँ ७७ पैसा बिगो दाबी र कैद तथा जरिवाना माग गरिएको लामिछानेले बताउनुभयो । मुद्दा दायर गर्नुअघि अधिकारी र भण्डारीलाई अख्तियारले नियन्त्रणमा लिएको थियो । 

गत कात्तिक २५ गते सुरक्षा विज्ञ घनश्याम राज आचार्यले पेश गरेको प्रतिवेदनमा सो हेलिपोर्टबाट हेलिकप्टर सञ्चालन गर्न नसकिने र आइकाओको सिद्धान्त तथा मापदण्ड बमोजिम निर्माण नभएको लगायत कारणले असुरक्षित रहेको उल्लेख गरिएको अख्तियारले जनाएको छ । 


प्रतिक्रिया