काँग्रेस नेता चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा
मंसिर २८, २०८२ | काठमाडौं
नेपाली काँग्रेसका नेता एवंम् विघटित प्रतिनिधिसभाका सदस्य सन्तोष चालिसे विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
गैरकानुनी रुपमा सम्पत्ति आर्जनको आरोपमा अख्तियारले ३ करोड ६८ लाख ४७ हजार रुपैयाँ बिगो माग गर्दै चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
चालिसे विरुद्ध काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको प्रमुख रहँदा गैरकानुनी रुपमा सम्पत्ति आजर्न गरेको र अनुसन्धानका क्रममा सम्पत्तिको स्रोत खुल्न नसकेको पाइएपछि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगका सह प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार २०७४ जेठ देखि २०७९ असार सम्म नगरपालिकाको प्रमुख रहेका चालिसे र उनका परिवारका सदस्यले विभिन्न पेशा व्यवसाय मार्फत ४ करोड ८८ लाख ३५ हजार रुपैयाँ आम्दानी गरेको भए पनि सो अवधिमा ८ करोड ५६ लाख रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको पाइएको छ ।
लगानी र आम्दानी बीचमा देखिएको अन्तर बराबरको रकमको स्रोत खुल्न नसकेपछि नेता चालिसे सहित परिवारका अन्य सदस्य विरुद्ध समेत अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।









