दिवा खाजा कार्यक्रमको सकारात्मक प्रभाव / कक्षाकोठामा विद्यार्थी टिकाउन मद्दत
पुस २, २०८२ | काठमाडौं
दिवा खाजा कार्यक्रम नेपालको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत देशभरका सामुदायिक विद्यालयमा कक्षा ५ सम्म अध्ययन गर्ने विध्यार्थीका लागि सञ्चालित कार्यक्रम हो । तर पछिल्लो समय भने कतिपय स्थानका स्थानिय तहहरुको सहयोगमा कक्षा १० सम्मका विद्यार्थीका लागि यो कार्यक्रम सञ्चालनमा छ । दिवा खाजाको सकारात्मक प्रभावले गर्दा सामुदायिक विद्यालयमा विद्यार्थीलाई टिकाउन सहज भएको सरोकारवालाको भनाइ छ ।
देशमै उत्पादन भएका अन्नबाली र ती अन्नबालीबाट प्राप्त हुने पौष्टिकताको अध्ययन गरेर विद्यार्थीका लागि एक दिनमा आवश्यक पर्ने सूक्ष्म र बृहत् पौष्टिक तत्वको ३० प्रतिशत क्यालोरी प्राप्त हुने गरी क्षेत्रगत हिसावले दिवा खाजा दिने गरिएको छ । सम्वद्ध अधिकारीका अनुसार खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागको अगुवाइ तथा विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको प्राविधिक सहयोगमा दिवा खाजाको मेनु तयार गरिएको हो । विद्यार्थीको उमेर समूह अनुसार अन्न, गेडागुडी, फलफूल, सागपात लगायतको दिवा खाजा प्रत्येक दिन विद्यालयमा तयार पार्ने गरिएको छ । सबै क्षेत्रलाई समेट्ने गरी ६० प्रकारका खाजा तयार पारिएको शिक्षा मन्त्रालयले जनाएको छ ।
स्थानीय उत्पादनलाई ध्यानमा राखेर रैथाने खाजा जस्तै, मकैको खिर, तरकारी, कोदोको हलुवा, मासको जाउलो, फापरको रोटि लगायत खाजाको व्यवस्था गरिएको हो । दिवा खाजा कार्यक्रमको उदेश्यबारे शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव मधु प्रसाद घिमिरेले भने,‘अहिले हामीले सञ्चालन गरेको दिवा खाजा कार्यक्रमबाट कुल विद्यार्थी संख्यामध्ये करिब करिब ३० देखी ३२ लाख विद्यार्थी लाभान्वित भएका छन् ।, स्थानीय परिकाहरुलाई प्राथमिकतामा राखी जङक फुड् निशेधित खाजा मात्रै खावाउने निति ल्याएकाले सोही अनुसार विद्यालयमा खाजाको मेनु समेत तयार गरी पठाउने गरिएको छ। ’
नेपाल सरकारले देशभरि विद्यार्थीको टिकाउ दर बढाउनका लागि खाजा कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । दुर्गम हिमाली क्षेत्रमा प्रतिदिन प्रतिविद्यार्थी २५ रुपैयाँ र अन्य क्षेत्रमा २० रुपैयाँमा उपलब्ध हुने दिवा खाजा हरेक दिन अन्नको समूह गहुँ, जौ, मकै, कोदो, लगायतबाट ५० देखि ६० ग्राम त्यस्तै गेडागुडी सिमी, केराउ, भटमास, लगायतबाट ४० देखि ५० ग्राम हुनुपर्ने मापदण्ड तोकिएको छ । त्यसैगरी हरियो सागपात तथा फलफूलबाट ३० देखि ५० ग्राम र पशुपन्छीजन्य माछा, मासु, अन्डा, दुध, दही, घिउबाट भने २० देखि ३० ग्राम गरी कुल १ सय ५० देखि २०० ग्राम प्रति विद्यार्थीका लागी प्रतिदिन दिवा खाजा व्यवस्थाका लागि मापदण्ड निर्धारण गरिएको सरकारी अधिकारीहरुले बताएका छन् ।
दिवा खाजाको गुणस्तर र मापदण्डबारे शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक हरि प्रसाद अर्यालले भने, ‘चालु वर्षमा मात्रै करिब ९ अर्व रुपौयाँ दिवा खाजाका लागी विनियोजन भएको छ । स्थानिय तहहरुले विद्यार्थी संख्याका आधारमा विद्यालयमा वितरण गर्ने गरेका छन् । र, सरकारी मापदण्ड अनुसार खाजा वितरण नगरेमा सोहि अनुसार अनुगमन हुने गरेको छ । साथै, दिवा खाजाले पछिल्लो समय सकरात्मक प्रतिक्रिया दिएको छ । ’
विद्यार्थी घट्न नदिन सरकारले ल्याएको दिवा खाजा कार्यक्रमको सकारात्मक प्रभाव देखिन थालेको छ । बालबालिका विद्यालयमा भर्ना भई नियमित पढ्न गएबापत दैनिक २० देखि २५ रुपियाँका दरले खाजा रकम उपलब्ध गराउने वा विद्यालयमै खाजा खुवाउने सरकारको निणर्यपछि भर्ना दर बढेको सामुदायिक विद्यालयको भनाइ छ । दिवा खाजाले विद्यालयमा भर्ना मात्र होइन विद्यार्थीको पढाइ पनि नियमित हुन थालेको पाइएको छ । त्यस्तै, विद्यालयमै स्थानीय परिकार बन्न थालेपछि विद्यार्थीले जंकफुड खान छाडेका छन् ।
काठमाडौंको चावहिलस्थित पशुपति मित्र माध्यमिक विद्यालयका शिक्षक देबेन्द्र कोइरालाले भने, ‘चुनौति भएपनि विद्यालय व्यवस्थापन समितिसँगको सहकार्यमा दिवा खाजा कार्यक्रमलाई सहजताका साथ अगाडी बढाएका छौँ । विद्यालयमा प्रत्येक दिन फरक फरक खाजा तयार गरी विद्यार्थीलाई दिने गरीएको छ । जसले गर्दा विद्यार्थीहरु समेत कक्षाकोठामा नियमित हुन थालेका छन् । ’
बालबालिकाको स्वास्थ्य, पोषण र विद्यालय भर्ना एवं सिकाइ निरन्तरता एकै साथ सुधार गर्ने अभिप्रायले दिवा खाजा कार्यक्रम लागु गरिएको हो । तर, विद्यालयमै दिवा खाजा तयार गरी खुवाउँदा यसका लागि आवश्यक पूर्वाधार र जनशक्ति अभाव भने हट्न सकेको छैन । सरकारले तोकेको मापदण्ड अनुरूप दिवा खाजाका लागि हाल उपलब्ध रकम न्यून हुँदा कतिपय क्षेत्रका विद्यालयमा समस्या भएको विद्यालयहरुको गुनासो छ ।











