निवर्तमान सांसदको बहुमत जुटाएर प्रतिनिधिसभा पुर्नस्थापनाका लागि अदालत जाने कंग्रेस एमालेको तयारी
पुस ६, २०८२ | काठमाडौं
नेपाली कंग्रेस र एमालेले प्रतिनिधिसभा पुर्नस्थापनाको पक्षमा बहुमत सदस्यको हस्ताक्षर संकलन गरि सर्वोच्च अदालत जाने तयारी गरेका छन् । पछिल्लो पटक कंग्रेसले संसद पुर्नस्थापनाका लागि ६६ जना सांसदको हस्ताक्षर संकलन गरेको सो पार्टीका नेताहरुले बताएका छन् ।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय ३८ सांसदको बहुमत हुने भएकाले दुई दलले निवर्तमान सांसदको बहुमत जुटाउन हस्ताक्षर संकलन गरेका हुन् । एमालेले यसअघि नै ७५ सांसदको हस्ताक्षर संकलन गरिसकेको थियो । विघटित प्रतिनिधि सभामा सचेतक रहेकी कंग्रेस नेतृ सुशीला थिङले संसदको बहुमत पु¥याएर अदालतमा जाने तयारी भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार पार्टीका शीर्ष नेताले भने हस्ताक्षर गरेका छैनन् । कंग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे र सचेतक थिङसहित ८ सांसदले गत मंसिर २३ गते सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै रिट दायर गरेका थिए । सोही रिटमा बहुमत सदस्यको समर्थन देखाउन कंग्रेसले थप ५८ निवर्तमान सांसदको हस्ताक्षर संकलन गरेको हो ।
कंग्रेसको तर्फबाट पुरक निवेदन पेश हुने र एमालेले समेत त्यसमा सहयोग गर्ने रणनीति बनाएको एक नेताले जानकारी दिए । फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको तयारी अघि बढिरहँदा कंग्रेस र एमालेले प्रतिनिधिसभा पुर्नस्थापनाको मागलाई महत्व दिन थालेका हुन् ।









