काँग्रेसमा उम्मेदवारी सिफारिसको लर्को लाग्दा टिकट वितरण असहज हुने संकेत
पुस ६, २०८२ | काठमाडौं
काठमाडौं । आगामी राष्ट्रिय सभा र प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिदै जाँदा अघिल्लो साता विभिन्न जिल्लाबाट नेपाली काँग्रेसका लागि उम्मेदवार सिफारिस हुने क्रम निकै चल्यो । एउटै निर्वाचन क्षेत्रबाट समेत दर्जनौ नेताको नाम सिफारिस गरेर पठाइएको छ भने कतिपय जिल्लामा केन्द्रिय नेताको एकल सिफारिस गरिएको थियो । एकातर्फ निर्वाचन हुनेमा आशंका गरिरहेका कंग्रेसीजनमा चुनावी उम्मेदवार बन्ने आकाक्षीको लर्को लागेको छ भने अर्कोतर्फ केही नेताले अबको निर्वाचनमा प्रतिस्पर्धा नगर्ने निर्णय लिएका छन् । जिल्लाबाट प्राप्त सिफारिस अनुसार उम्मेदवार चयन काँग्रेसका लागि त्यति सहज देखिएको छैन ।
पार्टीभित्र नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको विषयले चर्चा पाइरहँदा नेपाली कंग्रेसमा निर्वाचनका लागि उम्मेदवारी सिफारिस हुनेको संख्या बढ्दै गएको छ । पछिल्ला केहीदिन यता सार्वजनिक भएका सिफारिस भएका उम्मेदवारको सूचीमा पुराना र अनुभवी नेतासँगै युवा पुस्ताको नाम समेत देखा परेका छन् । नाम सिफारिससँगै टिकटको होडबाजी तीव्र बन्ने देखिन्छ । उम्मेदवार सिफारिसले चुनावी माहोल समेत बनाएको छ । तर काँग्रेसबाट निर्वाचन जितेर मन्त्री समेत बनिसकेका बद्री पाण्डे, रामनाथ अधिकारी, राजन केसी, जिपछिरिङ लामा लगायत नेताले चुनाव नलड्ने बताएका छन् ।
२०७९ मा भएको आम निर्वाचनमा बाजुराबाट प्रत्यक्षतर्फ निर्वाचित भएका पाण्डे त्यसअघि पनि २०७० सालमा समानुपातिक सांसद बनेका थिए । पाण्डे केपी ओली नेतृत्वको सरकारमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका थिए । त्यस्तै कृषि मन्त्रीको जिम्मेवारी सम्हालिसकेको अनुभव भएका काँग्रेस नेता रामनाथ अधिकारीले पनि निर्वाचनमा प्रतिस्पर्धा नगर्ने बताइसकेका छन् । धादिङबाट निर्वाचित अधिकारीले नयाँ पुस्तालाई राजनीतिमा आउन प्रेरित गर्ने उद्देश्यले चुनाव नलड्ने बताएका हुन् ।
नेपाली काँग्रेसबाट काठमाडौँ क्षेत्र नम्बर १० मा पछिल्ला चुनावमा लगातार निर्वाचित हुँदै आएका राजन केसीले पनि अब निर्वाचन नलड्ने भएका छन् । २०७० सालको दोस्रो संविधानसभामा तत्कालिन माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई पराजित गरेर चर्चा कमाएका राजन केसीले २०७४, २०७९ मा पनि चुनाव जितेका थिए । अब भने निर्वाचनमा आफ्नो उम्मेदवारी नरहने केसी बताउँछन् ।
आगामी चुनावका लागि पार्टी सभापति शेरबहादुर देउवा, नेतृ आरजु राणा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला, विमलेन्द्र निधि लगायतका शीर्ष तहका नेताको नाम सिफारिस भएका छन् । यस्तो अवस्थामा पटक पटक सांसद भएका नेताले राजनीतिमा नयाँ पुस्तालाई अवसर दिने बताउँदै प्रतिस्पर्धा नगर्दा त्यसले अरुलाई पनि नैतिक दबाब सिर्जना गर्ने राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल बताउँछन् ।
मंसिर १५ गतेको बैठकको निर्णयसँगै उम्मेदवारको नाम सिफारिस गर्न काँग्रेसले १ सय ६५ निर्वाचन क्षेत्रीय कार्यसमितिलाई परिपत्र गरेको थियो । विधान अनुसार प्रदेश क्षेत्रीय कार्यसमितिलाई प्रत्यक्षतर्फ तीन जनाको र समानुपातिकतर्फ एक महिला सहित दुई जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ । विधानले तोकेको भन्दा बढी आकांक्षी भएमा क्षेत्रीय कार्यसमितिले आफ्ना क्षेत्रका महाधिवेशन प्रतिनिधि र प्रदेश क्षेत्रीय प्रतिनिधिसमेतको बैठकबाट सहमति भए सहमति अनुसार सहमति नभए बहुमतका आधारमा प्रत्यक्षतर्फ तीन र समानुपातिक तर्फ दुई जनाको नाम छनोट गर्नुपर्ने अधिकार दिएको छ । त्यही प्रावधान अनुसार धमाधम उम्मेदवारी सिफारिस गरिएको हो । तर सर्वसम्मत र एकल सिफारिस भएका नेताहरुको टिकट सुरक्षित देखिएपनि विवाद र असमझदारीका कारण कतिपय क्षेत्रमा भने नाम टुंगो लाग्न बाँकी रहेको बताइएको छ ।
नविन कोइरालाका अन्य लेखहरु पढ्न यहाँ क्लिक गर्नुहोस्










