रुसी राष्ट्रपति पुटिनको भारत भ्रमणले अमेरिकालाई दिएको सन्देश

रेडियो कान्तिपुर संवाददाता

पुस ६, २०८२

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यही डिसेम्बर ४ र ५ तारिखमा इण्डियाको भ्रमण गरेका छन् । अमेरिकाको आर्थिक प्रतिबन्धकाबीच पुटिनले इण्डियाको भ्रमण मात्र गरेनन, दुई पक्षीय सम्बन्ध थप मजबुत बनाएको सन्देश समेत दिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले पुटिनको भव्य स्वागतसँगै नयाँ दिल्ली बाह्य दवावमा नझुक्ने सन्देश प्रवाह गरेर आफूलाई बलियो देखाउने प्रयास गरेका छन् । शक्ति राष्ट्रबीचको होडबाजी बढिरहँदा रुस र इण्डियाको बढ्दो निकटताले अमेरिकालाई सशंकित बनाइरहेको देखिन्छ ।

गत डिसेम्बर ४ तारिखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको स्वागत गर्न आफैँ नयाँ दिल्लीको एअरपोर्ट पुगे । कूटनीतिक प्रोटोकललाई 'ब्रेक' लगाउँदै राष्ट्रप्रमुखको स्वागतमा मोदी एयरपोर्ट पुग्नुलाई महत्वका साथ हेरिएको थियो । त्यति मात्र होइन, जुन गाडीमा पुटिन र मोदी चढेका थिए त्यसलाई लिमो भनिन्छ र अहिले त्यो लिमो कूटनीतिको नाममा अहिले चर्चामा छ । रुसले युक्रेनमा सन् २०२२ मा आक्रमण सुरु गरेयता राष्ट्रपति पुटिन पहिलोपटक इण्डिया भ्रमणमा आएका हुन् । प्रधानमन्त्री मोदीको भव्य स्वागत र दुई नेताबीचको न्यानो मित्रताले अहिले अन्तर्राष्ट्रिय चर्चाको विषय बनेको छ । खासगरी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ५० प्रतिशत ट्यारिफ भारतीय वस्तुमा लगाएर रुससँग कारोबार नगर्न दवाव दिइरहेकोबीच भएको भ्रमणले एकपटक विश्वको ध्यान दक्षिण एशियामा खिचेको छ । 

रुस–युक्रेन युद्धमा रुसलाई एक्ल्याउन शाम, दाम, दण्ड र भेद सबै नीति अपनाइसकेको विश्व शक्ति राष्ट्र अमेरिका र युरोपलाई पुटिन–मोदी भेटले एउटा महत्वपूर्ण सन्देश पनि दिएको छ । त्यो के हो भने रुस–युक्रेन युद्धमा पुटिनलाई मात्र खलपात्र बनाएर रुसलाई भूराजनीतिक शक्तिको खेलबाट पन्छाउन सजिलो छैन । अमेरिकाले रुसले चाहेजस्तो शान्ति सम्झौता गर्न समेत पुटिनले आनाकानी गरिरहेका बेला रुसलाई विश्वबाट एक्ल्याउने खेलमा अमेरिका र युरोप नराम्ररी असफल भएको देखिन्छ । मोदी–पुटिन भेटको एउटा सन्देश यो पनि हो । अमेरिकाले रुसलाई अलग्याउन युरोपेली मुलुक र इण्डियालाई रुसबाट तेल खरिद नगर्न चेतावनी दिएको थियो । ट्रम्पले त्यही आधार देखाउँदै इण्डियामाथि चर्को ट्यारिफ समेत लगाए । जसले इण्डियाको पोसाक, अमूल्य पत्थर तथा गहना, इञ्जिनियरिङ वस्तु तथा रसायनिक पद्धार्थसम्बन्धी उद्योगमा ठूलो प्रभाव परेको छ । यद्यपि, मोदीले रुसबाट तेल खरिद गर्न बन्द नगर्ने निर्णय मात्र गरेनन्, त्यसको केही महिनापछि नै पुटिनलाई भ्रमणको निम्तो दिए ।

डिसेम्बर ५ तारिखमा भएको दुवै मुलुकको प्रतिनीधिमण्डलको भेटवार्तामा मस्को र नयाँ दिल्लीबीच केही उल्लेखनीय सम्झौता भएका छन् । इण्डिया रुसी हातहतियार र पेट्रोलियम पद्धार्थको ठूलो खरिदकर्ता हो । भेटवार्तामा दुवै नेताले रुस–इण्डियाको संयुक्त व्यापार सन् २०३० सम्म १ सय विलियन अमेरिकी डलर बनाउने उद्घोष समेत गरे । प्रधानमन्त्री मोदीले इन्धन सुरक्षा मस्कोसँगको सम्बन्धको सबैभन्दा दरिलो पिलर भएको बताए ।

इण्डियाले रुससँग तेल खरिद गरेर कुनै अन्तर्राष्ट्रिय नियम कानुन मिचेको छैन । यद्यपि, पश्चिमा मुलुकले प्रतिबन्ध लगाएर रुसको इन्धन खपत विश्वव्यापी रुपमा कम गराउन खोजेको छ । त्यस्तोमा इण्डियाले कम मूल्यमा रुसी तेल खरिद गरिरहेको कार्यलाई अमेरिकाले चर्को ट्यारिफ लगाएर रोक्न खोजेको छ । हाल वासिंगटन र नयाँ दिल्ली अमेरिकाले लगाएको ट्यारिफ कम गर्न वार्ता गरिरहेका छन् । तर मोदी र पुटिनले रुससँगको खरिद कार्य गरेमा कुनै पनि प्रकारको सजाय दिएको भनेर उनीहरुले भनिरहेका छन् भने त्यो पाखण्डीपन भएको बताएका छन् । पुटिनले इण्डियन मिडियालाई दिएको एक अन्तवार्तामा भनेका छन्, “अमेरिका आफैँले हामीसँग आणविक इन्धन खरिद गर्ने गर्छ आफ्नो आणविक पावर प्लान्टको लागि । त्यो अमेरिकामा सञ्चालन हुने रिएक्टरहको लागि इन्धन युरेनियम पनि हो । यदि अमेरिकासँग ती इन्धन किन्ने अधिकार छ भने इण्डियासँग किन छैन ?” पुटिनको प्रश्न छ । त्यसो त युरोपेली संघ ईयुले पनि रुससँग केही व्यापार जारी राखेको छ । जसमा ग्यासको आयात समेत रहेको छ ।

तर मोदी र पुटिनको भेटले दुई मुलुकको व्यापार सम्बन्धको विस्तारको चर्चा मात्र गरेको छैन । मोदीले पुटिनलाई माइक्रोब्लगिङ साइट एक्समा मित्र भनेर सम्बोधन गर्नु र दुईबीचको सम्बन्धलाई समयको परीक्षणको रुपमा व्याख्या गर्नुले विश्वलाई स्पष्ट सन्देश समेत दिएको छ कि यो सम्बन्ध बाह्य दवावकाबीच झुक्ने छैन ।

सन् २०२२ भन्दा अगाडी इण्डिया र रुसबीच ऐतिहासिक रुपमा वर्षेनी १० विलियन अमेरिकी डलरको व्यापार हुने गथ्र्यो । त्यो रुसले युक्रेनमा आक्रण गर्नुभन्दा अगाडि थियो । जब रुसमा विश्वव्यापी आर्थिक प्रतिबन्ध लाग्यो, इण्डियाले त्यसलाई मान्न अस्वीकार गर्यो । फलस्वरुप, वर्तमान व्यापारिक कारोबार ६८ बिलियन अमेरिकी डलर पुगेको छ । मुख्यत: इण्डियाले छुटमा मस्कोसँग पेट्रोलियम पद्धार्थ आयात गरिरहेको छ । यसले नयाँ दिल्ली बेइजिङपछि मस्कोको दोस्रो ठूलो व्यापारिक साझेदार मुलुक समेत बनेको छ ।

भारत सरकारका राष्ट्रिय सुरक्षा परिषदका पूर्व सल्लाहकार ब्रह्म चेलेनीका अनुसार इण्डियाको रणनीतिक प्राथमिकता अमेरिका र रुससँगको रचनात्मक सम्बन्धबाट आएको छ । चीनको आक्रामक विस्तार बढ्दै जाँदा त्यसलाई रोक्न इण्डियालाई अमेरिका र रुस दुवैको साथ चाहिन्छ । यसमा नयाँ दिल्लीको लागि ठूलो कूटनैतिक चुनौती भनेको इण्डियाको विदेश नीतिलाई जोगाउँदै वासिंटन र मस्कोबीच सन्तुलन कायम गर्नु रहेको उनको भनाइ छ । अमेरिकाको हालैका वर्षका विदेश नीतिले रुसलाई चीनसँगको सामिप्यता बढाउन बाध्य बनाएको छ । जसले गर्दा इण्डियाले मस्कोसँग झनै 'स्थिर र गुणात्मक' सम्बन्ध राख्नु जरुरी भएको विज्ञहरु बताउँछन् ।

तर सोचनीय विषय के हो भने, रुसको मित्रवतपूर्ण सम्बन्ध भइरहँदा वासिंगटनले इण्डियासँग स्थिर खालको नीति लिएको पाइदैन । इण्डिया–पाकिस्तान युद्धमा पाकिस्तानको समर्थन र रुसलाई युक्रेन युद्धमा असहाय बनाउने बहानामा इण्डियामा माथि चर्को ट्यारिफ त्यसका केही प्रष्ट उदाहरण हुन् । अमेरिकाले इण्डियालाई चर्को ट्यारिफ लगाउँदा वासिंगटनले बेइजिङ र नयाँ दिल्लीलाई एउटै लाइनमा राखेको देखिन्छ । जबकि अमेरिका र इण्डियाको साझेदारी चीनको आक्रामक उदयलाई रोक्ने आपसी चाहनाको जगमा बसेको थियो । अमेरिकाले चीनलाई भन्दा पनि नराम्रो व्यवहार अहिले इण्डियालाई गरिरहेको बताइन्छ । रुसी तेल ईयु, टर्की, जापान र चीनले पनि खरिद गरिरहेको सन्दर्भमा केवल इण्डियालाई मात्रै औँला तेर्साउनु गलत भएको कतिपयको बुझाई छ । यद्यपि, पुटिन–मोदी मित्रता र पछिल्ला सम्झौताले अमेरिकालाई तर्साउने सन्देश दिएको छ । 


प्रतिक्रिया