फागुन २१ गतेको निर्वाचनमा जानुको विकल्प छैन : सभापति लामिछाने
पुस ६, २०८२ | काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा जानुको कुनै विकल्प नभएको बताउनुभएको छ ।
काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयमा नेता–कार्यकर्तालाई सम्बोधन गर्दै सभापति लामिछानेले निर्वाचनको विकल्प नभएको बताउनुभएको हो । मुलुकमा सुशासन कायम गर्न तथा जेनजी आन्दोलनको माग सम्बोधनका लागि समयमै निर्वाचत हुनुपर्ने सभापति लामिछानेको भनाइ छ ।
केही राजनीतिक दलबाट निर्वाचनको वातावरण विथोल्ने गतिविधि भइरहेको लामिछानेले आरोप लगाउनुभयो ।
फागुनमा हुने निर्वाचनका लागि तयारी भइरहेपनि दलहरुले त्यसलाई वेवास्ता गरेको चर्चा उहाँले गर्नुभएको छ । सहकारी ठगी मुद्दामा धरौटीमा रिहा भएपछि लामिछानेक पार्टीको गतिविधिमा फर्किनुभएको हो । उहाँ पार्टीको केन्द्रिय समिति बैठकमा सहभागी हुनुभएको छ ।









