निर्वाचन सुरक्षाका लागि ८० हजार सैनिक परिचालन गर्ने तयारी
पुस १९, २०८२ | काठमाडौं
आगामी फागुन २१ मा तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा करिब ८० हजार सैनिक परिचालन गर्ने तयारी भएको छ । नेपाली सेनाले आफ्ना सबै गुल्म गण मिलाएर कूल संख्याको ९० प्रतिशतभन्दा बढी सैनिक सुरक्षाका लागि चुनावमा परिचालन गर्न लागेको हो ।
त्यसका लागि सेनाको परमाधिपति एवम् राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनका लागि सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णय तथा प्रधानमन्त्रीको सिफारिसलाई स्वीकृति दिइसक्नुभएको छ ।
राष्ट्रपति पौडेलले निर्वाचनमा सेनासहित अन्य सुरक्षा निकायलाई परिचालन गर्न गत मंसिरमा नै स्वीकृती दिइसकेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निर्वाचन सुरु हुनुभन्दा एक महिनाअघि सेनाको परिचालन गरिनेछ ।
त्यसको लागि तीन तहको एकीकृत सुरक्षा योजना तयार गरिएको छ । सुरक्षा योजनाअनुसार पहिलो तहमा प्रहरी बल तैनाथ गरिनेछ । दोस्रो तहमा सशस्त्र प्रहरी बल रहने र अन्तिम घेरामा नेपाली सेना रहने जनाइएको छ ।








