जलपन्छी गणना कार्य सुरु
पुस १९, २०८२ | काठमाडौं
मुलुकभरका ताल तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकैसाथ जलपन्छी गणना कार्य सुरु भएको छ । नेपालका सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक जल पन्छीको अवस्था, वितरण र संख्याको अभिलेख गर्न हरेक वर्ष जस्तै यस वर्ष पनि एशियाली जलपन्छीको गणना कार्य सुरु भएको हो । हरेक वर्षको जनवरी महिनाको पहिलो शनिवारदेखि जलपन्छी गणना कार्य गरिँदै आएको छ ।
नेपाल जलपन्छीको केन्द्रिय एशियाली उडान मार्ग अन्तर्गत पर्ने एक महत्वपूर्ण देश हो । एसिया, युरोप र साइबेरियाबाट आउने हजारौँ प्रवासी जल पन्छीले नेपालका ताल, नदी र सिमसार क्षेत्रलाई बासस्थानका रूपमा प्रयोग गर्ने गर्छन् । यस गणनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संरक्षण प्रयासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।
गणना कार्य माघ ४ गतेसम्म सञ्चालन हुने नेपाल पन्छी संरक्षण संघले जनाएको छ । भारतीय महादिपमा एशियाली जलपन्छी गणनाकार्य सन् १९८७ देखि वेटल्याण्ड्स इन्टरनेशनलले सुरु गरेको हो ।
सो कार्य सुरुमा एशियाको अफगानिस्तान, जापान, दक्षिण एशिया र अष्ट्रेलियामा गरिएको थियो । सन् १९८७ देखिनै नेपालमा पनि एशियाली जलपन्छी गणनाकार्य नियमितरुपमा हुँदै आएको छ । नेपालमा पहिलो गणना एक रामसार साईट र अन्य केही सिमसार क्षेत्रमा गरिएको थियो । त्यसपछि गणनाकार्य निरन्तररुपमा जारी छ।








