धरानमा बस दुर्घटनामा ५ जनाको मृत्यु, १२ घाइते

माघ ४, २०८२ | सुनसरी

सुनसरीको धरानस्थित जिरो प्वाइन्टमा बस दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । जनकपुरबाट धनकुटाको भेडेटारमा शैक्षिक भ्रमणका लागि आएको एक निजी विद्यालयको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो । 

दुर्घटनाान झापाका उमेश राई, सुनसरी बराहक्षेत्रका नयन थापामगर, धरान–१३ की सुभेच्छा सुब्बा, जनकपुरका १८ महिनाको बालक रिसवकुमार मण्डल र धैर्यकुमार यादवको मृत्यु भएको हो । 

सो दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन् । आज दिउसो सवा ४ बजे धरानको जिरो प्वाइन्टमा जनकपुरस्थित इन्टरनेशनल टेम्स एकेडेमीको को १ ख ७११९ नम्बरको बस दुर्घटनामा परेको हो ।

भेडेटार घुमेर फर्कने क्रममा बस अनियन्त्रित भई दुर्घटना भएको थियो । सो बसमा विद्यार्थी नभई विद्यालयका शिक्षक तथा कर्मचारीहरू सवार थिए । 

जिरो प्वाइन्टमा एउटा स्कुटरलाई बचाउने क्रममा वा अनियन्त्रित भई बस सडक छेउको एक मेडिकल पसलमा ठोकिएको र त्यसपछि सडकमा पल्टिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको इलाका प्रहरी कार्यलय धरानका डिएसपी भीषणबाबु राईले जानकारी दिनुभयो ।


प्रतिक्रिया