उम्मेदवारले निर्वाचनमा हुने कारोबारका लागि छुट्टै बैंक खाता खोल्नुपर्ने
माघ १२, २०८२ | काठमाडौं
आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिने सबै उम्मेदवारले चुनावी खर्चको कारोबार गर्न छुट्टै बैंक खाता खोल्नुपर्ने भएको छ । तोकिएको सीमा भन्दा बढी मात्रामा उम्मेदवारले खर्च गर्ने प्रवृत्ति निरुत्साहित गर्ने प्रयासमा यस्तो व्यवस्था गरिएको हो । निर्वाचन आयोगको आग्रहपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा खोलिने चुनावी खाताका लागि आवश्यक व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
निर्वाचन सम्पन्न भई निर्वाचन आयोगद्वारा निर्णय गरी बैंक खाता बन्द गर्न नलगाउँदासम्म सञ्चालन हुने गरी बैंक खाता सञ्चालनका लागि व्यवस्था गर्न भनिएको छ । छुट्टै खाता प्रत्यक्षतर्फका उम्मेदवार, स्वतन्त्र उम्मेदवार र समानुपातिक तर्फका उम्मेदवारले खोल्नुपर्ने छ । बैंकको निर्देशनमा भनिएको छ–प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरुको सिफारिसमा आमनिर्वाचन अभियान, समूहको आम्दानी खर्च कारोबार गर्नसक्ने गरी छुट्टै एउटा बैंक खाता खोली सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।
राष्ट्र बैंकले बैंक वा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको एकभन्दा बढी खाता खोल्न नपाइने व्यवस्थामा निर्वाचन आयोगबाट बैंक खाता बन्द गर्न नलगाउँदासम्म छुट प्रदान गर्न समेत निर्देशन गरेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनमा निर्वाचन खर्चको सीमा र विवरण बुझाउन निर्वाचन आयोगले तोकेको खर्चको हदभित्रै रहेर प्रचारप्रसार, चुनावी अभियान सञ्चालन गर्नुपर्ने व्यवस्था छ । चुनावी खर्च गर्न उम्मेदवारले बैंक तथा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट मात्र कारोबार गर्नुपर्ने व्यवस्था कार्यन्वयन गर्न लागिएको हो ।









