निर्वाचन प्रचारमा २ गाडी र ४ घोडासम्म प्रयोग गर्न पाइने

माघ १८, २०८२ | धनकुटा

धनकुटामा आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न जिल्ला निर्वाचन व्यवस्थापन समितिले प्रचारप्रसारका क्रममा सवारीसाधन प्रयोगदेखि खर्च विवरणसम्म आचारसंहिता कडाइका साथ पालना गर्न राजनीतिक दल तथा उम्मेदवारलाई सचेत गराएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालय धनकुटाले संयुक्त रूपमा आयोजना गरेको निर्वाचन आचारसंहिता पालना तथा शान्ति–सुरक्षा व्यवस्थापनसम्बन्धी आज आयोजित छलफल कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले आचारसंहिता सम्बन्धी प्रस्तुति गर्दै प्रचारप्रसारमा स्वदेशी नम्बर प्लेट भएका सवारीसाधन मात्रै प्रयोग गर्न पाइने जानकारी दिनुभएको छ । 

मुख्य निर्वाचन अधिकृतको अनुमतिमा अधिकतम दुई वटा गाडी र गाडी पुग्न नसक्ने स्थानमा आवतजावतका लागि चार वटा घोडासम्म प्रयोग गर्न पाइने व्यवस्था रहेको उहाँले बताउनुभयो । धार्मिक आधारमा मतदाता संगठित गर्न, राष्ट्रिय झण्डाको दुरुपयोग गर्न तथा सामाजिक सञ्जाल मार्फत मिथ्या सूचना फैलाउन कडाइका साथ निषेध गरिएको उहाँको भनाई छ । 

कोणसभा, आमसभा लगायत कार्यक्रमबाट भएको खर्च १५ दिनभित्र निर्वाचन आयोगमा बुझाउनुपर्ने व्यवस्था छ । धनकुटामा प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवारले अधिकतम ३१ लाख रुपैयाँ र समानुपातिक तर्फका उम्मेदवारले २ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् । २५ हजार रुपैयाँभन्दा माथिको कारोबार अनिवार्य रूपमा बैंक खाता मार्फत गर्नुपर्ने जनाइएको छ । 


प्रतिक्रिया