धनुषा १ को मतपरिणाम सार्वजनिक हुन अझै केही दिन लाग्ने

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन २५, २०८२ | काठमाडौं

प्रतिनिधिसभा निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नम्वर १ को मतपरिणाम सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका किशोरी शाहको उम्मेदवारी खारेजीबारे उत्पन्न विवाद निरुपण नभएकाले नतिजा घोषणामा ढिलाइ भएको हो । 

आफ्नो उम्मेदवारी खारेज गर्ने निर्णय विरुद्ध शाहले दिएको रिटमा सर्वोच्च अदालतले तत्काल मतपरिणाम घोषणा नगर्न आदेश दिदै अर्को पेशी फागुन २९ गतेका लागि तोकेको छ । 

सो क्षेत्रको मत गणना सकिएपनि नतिजा घोषणा नगरिएको हाम्रा सहकर्मीले जनाएका छन् । निर्वाचन अधिकृत मनोज बरालले प्रत्यक्षतर्फको गणना सकिएपनि निर्वाचन आयोगको निर्देशनबमोजिम अन्तिम नतिजा घोषणा नगरिएको बताउनुभयो । उम्मेदवारी खारेज भएपनि रास्वपाको चुनाव चिन्हमा परेको मतसमेत गनेर गोप्य राखिएको छ । 

सो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मातृका यादवले १० हजार ४ सय २८ मत ल्याउनुभएको छ भने कांग्रेसका उम्मेदवार रामपल्टन साहले ९ हजार ४ सय ८५ मत पाउनुभएको छ । 

यसैबीच, निर्वाचन अधिकृतको कार्यालयले अन्तिम परिणाम घोषणा नगरेको भन्दै नेकपाले आपत्ति जनाएको छ । नेकपाका उम्मेदवार यादवले रास्वपाका शाहको उम्मेदवारी खारेज भएको अवस्थामा आफू सर्वाधिक मत ल्याएर विजयी भएको दावी गर्नुभएको छ ।

निर्वाचनको दुई दिनअघि आयोगलेरास्वपाका नेता शाहको उम्मेदवारी खारेज गरेको थियो । बैंक तथा वित्तीय संस्थासम्बन्धी विषयमा कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको भन्दै शाहको उम्मेदवारी खारेज भएको हो । 


प्रतिक्रिया