कांग्रेसभित्र आन्तरिक विवादको नयाँ क्रम शुरु
चैत्र ८, २०८२ | काठमाडौं
प्रतिनिधिसभा निर्वाचनबाट दोस्रो स्थानमा सीमित भएको नेपाली कांग्रेसभित्र आन्तरिक विवादको नयाँ क्रम शुरु भएको छ । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक पार्टी जारी रहँदा पूर्व सभापति शेरवहादुर देउवा पक्षले पुरानै केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी गरेको छ ।
नेता पूर्णबहादुर खड्काको संयोजकत्वमा आज बसेको नेताहरुको बैठकले केन्द्रिय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको हो । बैठकमा सहभागी नेता मीन विश्वकर्माले नेताहरूसँग नेता खड्काले आवश्यक परामर्श गरी बैठकको समय र मिति तय गर्ने निष्कर्षमा आफूहरु पुगेको बताउनुभयो ।
निर्वाचनको समिक्षा र आन्तरिक बिषयबारे छलफल गरी भावी रणनीति बनाउन सो समूहले तयारी गरेको हो । देउवा पक्षको तयारीमा अर्का नेता डा. शेखर कोइराला पक्षले समेत समर्थन जनाएको बुझिएको छ ।
विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई अस्वीकार गर्दै आएको सो समूहले समानान्तर गतिविधि अघि बढाउन लागेको हो । विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई वैधानिकता नदिन माग गर्दै देउवा पक्षले दिएको रिट सर्वोच्च अदालतमा विचाराधिन छ ।









