विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने तयारीप्रति नेकपाको आपत्ति
चैत्र २८, २०८२ | काठमाडौं
नेपाली कम्युनिष्ट पार्टीले जनसंगठन र ट्रेड युनियनमाथिको प्रतिबन्ध स्वीकार्य नभएको बताएको छ । केन्द्रीय कार्य समायोजन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका नेता जगन्नाथ खतिवडाले प्रतिबन्ध स्वीकार्य नहुने बताउनुभएको हो ।
युवा र विद्यार्थी संगठनहरूलाई प्रतिबन्ध लगाउने र ट्रेड युनियनको अधिकार कुण्ठित गर्ने विषय भएको बताउदै यसको विरुद्धमा पार्टी सडकमा उत्रिने चेतावनी दिनुभयो ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, नयाँ सरकारको कार्यदिशा र पार्टीको आगामी कार्ययोजनाबारे गहन छलफल भइरहेको नेता खतिवडाले जानकारी दिनुभयो । बैठकमा पार्टीका सम्पूर्ण कमिटीहरूको समायोजन र एकीकृत पार्टीको भविष्यको कार्यदिशाबारे पनि छलफल भएको बताइएको छ । नयाँ वर्ष र आन्तरिक गृहकार्यका लागि समय आवश्यक परेकाले अर्को बैठक वैशाख ३ गते बस्ने तय भएको छ ।







