दन्तकाली मन्दिरको आय सार्वजनिक हुन सकेन
आश्विन १६, २०७४ | धरान
गुठी ऐन संसोधन नहुँदा धरान–१४ विजयपुरस्थित दन्तकाली मन्दिरमा भक्तजनले चढाएका दान–दक्षिण, भेटी, सुनचाँदी व्यक्तिगत सम्पति जस्तै भएको छ । नेपालमा रहेका प्रमुख शक्तिपिठ मध्ये धरानको दन्तकाली एक मानिन्छ । उक्त मन्दिरमा वर्षेनी हजारौं दर्शनार्थीहरु आफ्नो भाकल पुरा गर्न आउने गरेका छन् । करीब ३ सय वर्ष पुरानो मानिएको मन्दिरमा दर्शनार्थीले चढाएको दान र भेटी सार्वजनिक हुन सकेको छैन् ।
धरान १४ मा अवस्थित दन्तकाली मन्दिरमा वर्षेनी लाखौं भक्तजनहरु आउने गरेका छन् । मन्दिरमा नेपाल र भारतदेखि समेत भतजनहरु आउने गरेका छन । ताप्लेजुङको पाथीभरा मन्दिरको आय सार्वजनिक हुन थालेपछि प्रमुख धार्मिक पर्यटकीय क्षेत्रका सार्वजनिक मठमन्दिरका आय पनि खोजिनिति हुन थालेको छ ।
गोरखाका राजा पृथ्वी नारायण शाहका खनाती गिर्वाणयुद्ध विक्रम शाहले आज भन्दा २ सय ६ वर्षअघि अर्थात वि.स. १८६८ मा तनहुँबाट ल्याएका रामचन्द्र र तुलाराम खनाल दाजु भाईलाई विर्ता स्वरुप दान दिएको ताम्रपत्रका आधारमा हालसम्म खनाल वंशले मन्दिरको सबै आय भोगचलन गर्दै आएका छन् । दन्तकाली मन्दिरको गुठियार खनालहरु नै रहेका छन् । सोही ताम्रपत्रकै आधारमा खनाल वंशले अहिले सम्म त्यहाँ संकलन हुने दान भेटीलाई सार्वजनिक गरेको छैन । वर्षेनी बडा दशैंको अवसरमा विजया दशमीसम्म दन्तकाली मन्दिरमा नौरथा पुजा हुने गरेको छ ।
मन्दिरमा वर्षेनी कम्तिमा १० लाख देखि १५ लाख रुपैयाँ दान भेटी दक्षिण जम्मा हुने अनुमान गरिएको छ । तर हालसम्म कति आम्दानी भयो भन्ने यकिन तथ्याङ्क बाहिर आउन सकेको छैन् । ताम्रपत्रमा मन्दिर सञ्चालनको अधिकार खनाल वंशलाई दिएको छ ।
सरकारले समेत दन्तकाली मन्दिरलाई प्रमुख शक्तिपिठ मध्ये एक भएको मानेकाले राज्यको सार्वजनिक सम्पतिबाट दान भेटी दक्षिणा आदिको रुपमा संकलित रकम सार्वजनिक रुपमा सदुपयोग गर्नुपर्ने स्थानीय बासिन्दाहरुले बताउँदै आएका छन् । ०३५ सालसम्म दन्तकालीको मन्दिर सामान्य प्रकारको रहेपनि हाल भब्य प्यागोडा शैलीको छानो हालिएको छ ।
स्थानीय बासिन्दा समेत रहेका बुद्धिजीवी प्रा डा. राजेन्द्र शर्माकाले भन्नुभयो, ‘गुठी ऐन संशोधन नभएसम्म यो मन्दिर खनालहरुको अधिकारमातहत संचालन हुन्छ ।’ धरानमा रहेका बुढासुव्वा, पिण्डेश्वर बाबाधाम, दन्तकाली मन्दिरका आधारमा धार्मिक पर्यटन भित्राउने र आन्तरिक आयश्रोतमा वृद्धि गर्ने योजनाहरु बनिएपनि ती मन्दिरका आयाश्रोत व्यक्तिगत रुपमा जाने भएकाले गुठी ऐन संसोधन जरुरी रहेको डा शर्माले बताउनुभयो ।
मन्दिरको आम्दानीलाई मन्दिर संरक्षण, व्यबस्थापन, प्रचार प्रसार, जिर्णोद्धारका लागि खर्च गर्नु पर्नेमा मन्दिरको सम्पुर्ण मर्मत संभारदेखि रंगरोगन लगाउने काम पनि दाताहरुकै सहयोगमा अहिले सम्म भएको शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, ‘भक्तजनले आस्था राखेर मन्दिर दर्शन गर्न आउँदा चढाएको दक्षिणा, भेटीलाई मन्दिरको आम्दानीको विषय भएकाले सर्वसाधारण जनताले चासो राख्नु स्वाभाविक हो’ ।
मन्दिरमा खनाल वशंले स्थानीय कमल भट्टराईलाई पुजारी बनाएर राखेका छन् । उनले भने, ‘म भन्दा अगाडि एकजना भण्डारी थिए पुजारी, मैले ०६० सालदेखि यो मन्दिरमा पुजारी भएर काम गर्दैछु । तलब पनि खनाल वंशले नै दिंदैछन् ।’
मन्दिरबाट कति आम्दानी हुन्छ त्यो भने उनले बताउन चाहेनन् । दन्तकाली मन्दिरको गुठी सस्थान विराटनगर अन्र्तगत मोरंग र सुनसरीमा गरी ८ सय विघा जमिन समेत रहेको छ । प्रत्येक वर्ष मन्दिरलाई गुठी सस्थानले थप आम्दानी समेत बुझाउँदै आएको छ ।
मध्यकालतिर कालिकाका नामले चिनिने उक्त मन्दिर भगवान शिवले सतीदेवीको मृतशरीर बोकेर हिँड्दा सतीदेवीको दन्तपतन भई शक्तिपीठको रूपमा स्थापित भएको मानिन्छ । उक्त मन्दिरमा सतिदेवीका दाँतको प्रतिकको रुपमा एउटा कालो प्रस्तर राखी पूजाआजा गर्ने गरिएको छ । मन्दिरमा बोका, रागा बली दिने चलन छ । किरातकालिन इतिहास अनुसार बिजयपुर राज्यका सेन वंशी राजारुले ईष्टदेवीको रूपमा पुज्ने गरेका थिए ।
तनहुँका खनाल थरका बाहुनलाई पुजारी बनाएर शाहराजा गिर्वाणयुद्ध विक्रमले दिएको ताम्रपत्रमा उल्लेख छ । खनाल वंशले उक्त मन्दीरमा दुई दुई वर्षमा पालो पालो पुजा गर्ने गरेका छन् । मन्दिर व्यवस्थापन समितिका अध्यय समेत रहेका विश्वराज खनालले भने, ‘उहिले हाम्रा बाजे बराजुहरुलाई गिर्वाणयुद्ध विक्रम शाहले यो मन्दिर व्यवस्थापन गर्न दिएको ताम्रपत्रमा छ । मन्दिर भित्र चढाएको भेटी दान सवै पुजारीले राख्ने गरेको छ । हामीले मन्दिर बाहिरका व्यवस्थापन मात्र हेर्छौ ।’







