पुनर्निर्माणको २८ महिना : प्राधिकरण आफै असन्तुष्ट

वैशाख ११, २०७५ | काठमाडौं

- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प गएको ३ वर्ष पुग्नै लाग्दा आफ्नो २८ महिने कार्यविवरण सार्वजनिक गरेको छ । निजी आवास निर्माणमा भईरहेको कामप्रति सन्तोष व्यक्त गरेपनि प्राधिकरणले स्वास्थ्य संख्या, सरकारी भवन लगायतमा भएको प्रगतिप्रति भने आफै निराशा व्यक्त गरेको छ । 

राष्ट्रिय पुन निर्माण प्राधिकरणले प्राप्त बजेट माथिको संशोधनको अख्तियारी प्राप्त भए पुन निर्माणको गति तिव्र हुन सक्ने जनाएको छ । सामान्य विधिबाट भैरहेको पुन निर्माणलाई विशिष्ट र भिन्न विधि दिन सके मात्रै उल्लेख्य गतिमा काम गर्न सकिने प्राधिकरणका सचिव अर्जुन कार्कीले बताउनुभयो ।

भूकम्प गएको तीन वर्ष पुग्न एक दिन अघि मंगलवार पुनर्निर्माणमा भईरहेको प्रगति र आगामी योजनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २५ महिने प्रगति विवरण सार्वजनिक भएको थियो । सचिव कार्कीले अब स्थानीय निकायबाट परिचालनका लागी कार्यविधि परिवर्तनको तयारी भईरहेको बताउनुभयो ।

पुनर्निर्माण गर्नुपर्ने सरकारी भवनका विषयमा सार्वजनिक खरिद सम्बन्धी कार्य गरि सम्झौता गर्ने प्राधिकरणको योजना छ । विद्यालयका पुन निर्माण कार्यको प्रगति सन्तोषजनक रहेपनि स्वास्थ्य संस्थाको कार्यलाई तिव्रता दिने प्राधिकरणका सचिव कार्कीले प्रतिबद्धता व्यक्त गर्नुभयो । 

धरहार पुननिर्मर्ाणको जिम्मा आफैले लिने प्राधिकरणले निर्णय गरेको छ । अघिल्लो कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओलीले मेरो धरहार मै बनाउँछु कार्यक्रम सुरु गरेपनि त्यसको असफलता पछि प्राधिकरणले निर्माण जिम्मा आफैले लिएको प्राधिकरणका प्रवक्ता यमलाल भुषालको भनाई छ । 

प्रगति प्रति प्राधिकरण आफै असन्तुष्ट रहेपनि स्वास्थ्य संस्था र सरकारी भवन पुनर्निर्माण यही वर्ष सक्ने योजना छ । सम्झौता भएको १२ देखि १५ महिना भित्र निर्माण सम्पन्न गरिसक्ने भएकाले प्राधिकरणलाई दिईएको ५ वर्षको समयमा पुन निर्माणको कार्य सम्पन्न भैसक्ने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत भुषालले दावी गर्नुभयो ।  यसै आर्थिक वर्ष भित्र निजी आवास निर्माणमा पनि उपलब्धी प्राप्त हुनेमा प्रवक्ता भुषालको विश्वास छ । 

प्रक्रियागत झण्झट र प्राधिकरणको निर्णय मात्रै काफि नहुने भएकाले पुनर्निर्माणमा अनुमान भन्दा केही समय बढी लागेको प्राधिकरणका सचिव अर्जुन कार्कीको बुझाईछ । जोखिमयुक्त बस्ती पहिचान, स्थानान्तरण, लगायत विभिन्न कार्यमा मन्त्रालयगत समन्वयमा लाग्ने समय तथा बजेटमा संशोधनको अधिकार नहुँदा तिव्र गतीमा काम गर्न नसकिएको सचिव कार्की बताउनुहुन्छ । 

५ वर्षे कार्यकाल रहेको प्राधिकरणले २८ महिना गुजारिसक्दा, काम सन्तोषजनक नभएको गुनासो सर्वत्र छ । कार्यकालको आधाउधि समय गुजारिसक्दा पनि प्राधिकरण कार्यविधि र बजेट अख्तियारीमै अड्किएको छ । यो तीन वर्षमा प्रधिकरणको काम शुन्य हैन तर सन्तोषजनक पनि त छैन । बांकी ३२ महिनामा त्रिपाल मुनी रहेका सवै पीडितलाई भरपर्दो ओतको व्यवस्था गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण वायु पंङखी घोडा जस्तै दौडन आवश्यक छ । 

 


प्रतिक्रिया