विघटित संसद पुर्नस्थापना हुने एमाले अध्यक्ष ओलीको जिकिर

कार्तिक १, २०८२ | काठमाडौं
एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलसँग संवाद नगरी निर्वाचनको वातावरण बन्न नसक्ने बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित सम्पर्क समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रममा उहाँले निर्वाचन नहुने भन्दै विघटित संसद पुर्नस्थापना हुने जिकिर गर्नुभयो । आन्दोलनका क्रममा फरार भएका अपराधि नियन्त्रणमा लिनुपर्ने र प्रहरीका लुटिएका हातहतियार फिर्ता भएका अवस्थामा मात्र निर्वाचन सम्भव हुने उहाँको भनाइ छ ।
जेनजीले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि राखेका माग जायज भएपनि त्यसका नाममा हिंसा मच्चाउने तत्वले गरेका अराजक क्रियाकलापको समर्थन गर्न नसक्ने उहाँको भनाइ थियो ।
उहाँले विघटित प्रतिनिधिसभाको पुनःस्थापना आफ्नो पार्टीको अडान भएको जनाउँदै पार्टीको नीतिमा स्पष्ट र ढुक्क भएर अघि बढ्न कार्यकर्तालाई आग्रह गर्नुभयो । जेनजी आन्दोलनपछि अध्यक्ष ओली पहिलो पटक पार्टी केन्द्रीय कार्यालयमा पुग्नुभएको हो ।