सुन तस्करी र हत्या प्रकरणका अभियुक्तको बयान लिन सुरू

वैशाख २०, २०७५ | मोरङ

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङले आजबाट आरोपितसँग बयान लिन सुरु गरेको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा सनम हत्याका प्रतिवादी टेकराज मल्ल ठकुरी, माधव भनिने मदनप्रसाद घिमिरे, मोहन काफ्ले, लाक्पा शेर्पा, कृष्ण भनिने नरेन्द्र कार्की र राजन कुमारसँग आज पहिलो दिन सोधपुछ गरेको छ ।

सुन तस्करी सम्बन्धमा उनीहरुसँग भोलि थप सोधपुछ हुने अदालतलाई उद्दृत गर्दै सहकर्मी बिनोद भण्डारीले जनाएका छन् । पक्राउ परेका सबै २९ जनाको बयान पाँच दिनभित्रै लिइसक्ने अदालतका श्रेस्तेदार नवराज दुलालले बताउनुभयो ।

यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले हिजो प्रहरी नियन्त्रणमा रहेका २९ र सुन तस्कर र सनम हत्याका मुख्य योजनाकार गोरे भनिने चुडामणी उप्रेती सहित फरार रहेका ३४ जनाविरुद्ध करीब १७ अर्ब २ करोड रुपैयाँ बराबरको बिगो माग दाबी सहित मुद्धा दर्ता गरेको थियो । उनीहरुविरुद्ध प्रहरीले अपहरण, शरीर बन्धक, कर्तव्य ज्यान, आपराधिक समूह स्थापना र सञ्चालन गरी सुनको अवैध कारोबार गरेको आरोपमा मुद्दा दर्ता गरेको छ । 

तस्करीको ३३ किलो सुन गायब भएको र यसमा संलग्न भनिएका सनमको चरम यातनापछि हत्या गरिएको दाबी सहित प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा गत आइतबार प्रतिवेदन बुझाएको थियो । गत वर्षको फागुन १८ गते सुन तस्करीमा संलग्न समूहका व्यक्तिहरुले भरिया सनम शाक्यको मोरङको उर्लाबारीमा हत्या गरेका थिए ।

हत्याको भोलिपल्ट महानगरीय अपराध महाशाखाबाट डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जलेको टोलीले बा १२ च ५९६३ नम्बर स्कारपियो गाडीमा शाक्यको शव फेला परेको थियो । अहिले सम्म पक्राउ पर्नेमा सुन ब्यापारी, नेता, उच्च प्रहरी अधिकृत, त्रिभुवन विमानस्थल तथा एयलाइन्समा कार्यरत कर्मचारी छन् । 

मुख्य अभियुक्त भनिएका गोरे सहित उनकी पत्नी नर्वदा खरेल उप्रेती, भाई रमेश उप्रेती तथा साढे ३३ किलो सुनका हिस्सेदारी मोहनकुमार अग्रवाल, बाजेको सेकुवाका सञ्चालक चेतनाथ भण्डारी सहित अन्य ३४ जनालाई प्रहरीले खोजी गरिरहेको छ ।  


प्रतिक्रिया