नीजि क्षेत्रप्रतिको परम्परागत दृष्टिकोण परिवर्तन आवश्यक : दाहाल

श्रावण २२, २०७५ | वीरगञ्ज

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आर्थिक समृद्धि र देश विकासका लागि उद्योगी व्यवसायी प्रति राज्यको परम्परागत दृष्टिकोणमा परिवर्तन ल्याउन आवश्यक रहेको बताउनुभएको छ ।

वीरगञ्जमा आज नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नीजि क्षेत्रले नाफा कमाउने, उत्पादन वृद्धि गर्ने र रोजगारी सृजना गर्ने बिषयमा राज्यले सकारात्मक सोच नबनाएसम्म देश विकास नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नाफा कमाउने उद्योगी व्यवसायीलाई सक्दो निचोर्ने प्रवृत्ति हटाउन आवश्यक छ, कमी कमजोरीको समिक्षा गर्दै समाधानतर्फ बढ्नुपर्छ ।’ बढ्दो आयातलाई प्रतिस्थापन गर्न र निर्यात प्रवद्र्धनका लागि वैदेशिक लगानी अपरिहार्य बनेको भन्दै अध्यक्ष दाहाले त्यसका लागि मुलुकभित्रका पूँजीको सुरक्षा गरी ऐन कानुनको झन्झट हटाउदै वैदेशिक लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । उद्योगी व्यवसायीलाई उत्साहका साथ नयाँ लगानी गर्न समेत उहाँले आग्रह गर्नुभयो । 

जनताको सुविधाका लागि ल्याइएको संघीयताले जनता नै मारमा परेको उहाँले टिप्पणी गर्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, ‘स्थानीय र प्रादेशिक सरकारले लगाएको विभिन्न करले उद्योगी, व्यवसायी मारमा परेका छन्, ‘संघीयता ल्याएको सुविधाका लागि हो, तर, झन जनता नै मारमा परेका छन् ।’ लामो संघर्षपछि आएको संघीयता करकै कारण उल्टीने पो हो कि भन्ने चिन्ता समेत दाहालले व्यक्त गर्नुभयो । 

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले मुलुकमा विद्यमान बेथिती अन्त्यका लागि नयाँ ऐन–कानुन बनाउँदैमा नीजि क्षेत्र त्रसित बन्नु नपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले बनाएको नयाँ ऐन–कानुनले थप बेथिती निम्त्याउँछ भने छलफल गर्न तयार छौँ, गल्ती नगर्नेलाई ऐन कानुनले केही गर्दैन्, बजारको मूल्य, वस्तुको गुणस्तरको ग्यारेन्टी नीजि क्षेत्रले लिएमा सरकारले अनुगमन नै गर्नुपर्दैन ।’ 

उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले कर प्रणालीले नीजि क्षेत्र त्रसित बनेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कर प्रणाली राम्रो भएको मुलुकले तीव्र विकास गरेका छन्, संघीयता पछि स्थानीय र प्रदेश सरकारले लगाएको जथाभावी करले उद्योगी/व्यवसायीमा त्रास फैलिएको छ ।’ करले व्यवसायी वर्गलाई त्रास नहोस भनि गम्भीर रुपमा सोचिदिन उहाँले आग्रह समेत गर्नुभयो । मुलुकमा स्थायी सरकार बनेपछि विदेशमा राम्रो संकेत गएकाले वैदेशिक लगानी आउने सम्भावना बढेको उहाँको भनाई थियो । 

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले राज्यले वीरगन्ज र आसपासका क्षेत्रलाई हेला गरेको गुनासो गर्नुभयो । 


प्रतिक्रिया