राष्ट्रिय महिला हक्कीको सेमिफाइनल समिकरण पूरा

माघ ९, २०७५ | हेटौडा

मकवानपुरको हेटौंडामा जारी साहना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । बुधबार भएको खेलमा नेपाल आर्मी क्लब र प्रदेश नम्बर ३ विजयी भएसंगै अन्तिम चार समिकरण पूरा भएको हो ।

अब फाइनल प्रवेशका लागि बिहीबार नेपाल आर्मीले प्रदेश नम्बर ४ र प्रदेश नम्बर ३ ले प्रदेश नम्बर ७ संग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल शुक्रबार हुनेछ ।

हेटौंडा–११ स्थित दङ्गा नियन्त्रण गणको खेल मैदानमा नेपाल आर्मीले प्रदेश— ७ लाई ५–० र ३ नम्बर प्रदेशले ४ नम्बर प्रदेशलाई २–१ गोल अन्तरले पराजित गरेको हो । एकपक्षीय खेलमा आर्मीको तर्फबाट सीतामाया बलको गोलबाट अग्रता लिएको थियो । उनले १८ औं मिनेटमा गोल गरिन् ।

आर्मीका सरिता मेचेले २७ र ४५ औं मिनेटमा गोल गरिन् । आर्मीकै सीताकुमारी चौधरीले ५२ औं र मञ्जु विष्टले ५५ औं मिनेटमा गोल गरिन् । खेलमा प्रदेश नम्बर ७ ले खासै राम्रो मुभहरु बनाउन सकेन ।

प्रदेश— ३ र ४ बीचको खेल भने प्रतिस्पर्धात्मक बनेको थियो । खेलमा अग्रता भने प्रदेश— ३ ले लियो । प्रदेश नम्बर ३ की अनिता श्रेष्ठले ९ औं र २२ औं मिनेटमा गोल गरिन् । प्रदेश नम्बर ४ का सोनु बरालले खेलको २६ औं मिनेटमा गोल गर्दै अन्तरलाई केही कम गरिन् ।

प्रतियोगितामा विभागी टोली नेपाल आर्मीसहित पाँचवटा प्रदेशको सहभागिता रहेको थियो । नेपाल हक्की संघको आयोजनामा भएको प्रतियोगितालाई आगामी वर्षदेखि निरन्तरता दिने पक्षमा आयोजक रहेको छ ।  


प्रतिक्रिया