काठमाडौं उपत्यकामा डेंगुको महामारी फैलने त्रास

श्रावण २७, २०७६ | काठमाडौं

विश्व स्वास्थ्य संगठनले काठमाडौं उपत्यकामा डेंगुको महामारी फैलन सक्ने चेतावनी दिएको छ । संगठनका दुई विज्ञले हालै गरेको काठमाडौं भ्रमणपछि यस्तो चेतावनी दिएका हुन् । अध्ययनका क्रममा काठमाडौं उपत्यकाका कयौं स्थानमा डेंगु सार्ने एडिस एजेप्टाई र एडिस एल्बोपिक्टस जातका लामखुट्टेका अण्डा र लार्भा भेटिएको थियो ।

काठमाडौं उपत्यकाको हालको मौसम डेंगुका किटाणु फैलनुलाई उत्तम रहेकाले जोखिम पनि उच्च रहेको निष्कर्षमा उनीहरु पुगेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर विवेक कुमार लालले बताउनुभयो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा विश्व स्वास्थ्य संगठन नेपाल शाखाले दक्षिण पूर्वी एसिया क्षेत्रीय कार्यालय नयाँ दिल्ली र थाईल्याण्डबाट ती विज्ञलाई काठमाडौं बोलाएको थियो । गत वर्ष काठमाडौं उपत्यकाको वनस्थली– सानो भर्‍याङ क्षेत्रबाट १८ जना डेंगुका बिरामी फेला परेका थिए ।

 ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौं, भक्तपुर र ललितपुरका स्वास्थ्य संस्थालाई डेंगुको प्रकोपका लागि तयार रहन तथा सावधानीका उपाय अपनाउन निर्देशन दिईसकेको छ । 

उपत्यकामा पानी भण्डारणका कारण डेंगु फैलाउने लामाखुट्टेले प्रजननका पर्याप्त स्थान पाउँदा संक्रमणको खतरा झनै बढाएको छ । सफा पानीमा प्रजनन गर्ने डेंगुका लामखुट्टेले दिउँसोको समयमा मान्छेलाई टोक्ने गर्दछन् । खानेपानीको अभाव खेप्ने गरेका काठमाडौं बासीलाई खुला भाँडोमा पानी भण्डारण नगर्न विज्ञले सुझाव दिएका छन् । 

विश्व स्वास्थ्य संगठनका विज्ञको टोलीले धरान उपमहानगरको समेत भ्रमण गरेका छन् । ३ हजार डेंगुका बिरामी भेटिएको धरानमा पनि पानी भण्डारण मुख्य समस्या विज्ञले औंल्याए । डेंगु सार्ने लामखुट्टेले चिकनगुनिया, जिका भाईरस समेत सार्ने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

चिकित्सकका अनुसार सामान्यदेखि उच्च ज्वरो, मांसपेशी दुख्ने, डाबर देखिने, टाउको, आँखा दुख्ने डेंगुका लक्षण हुन् । मनुसन पछिको समय झनै डेंगु फैलने मुख्य समय रहेकाले बिरामीको संख्यामा वृद्धि हुने प्रति स्वास्थ्यकर्मीले चिन्ता ब्यक्त गरेका छन् । 


प्रतिक्रिया