सडकको विस्तारको नाममा वन फडानी, ४० वटा रुख ढालियो

कार्तिक ७, २०७६ | सिमरा

बाराको निजगढ–सिंगौल सडक विस्तारको नाममा वन फडानी गरिएको छ । बल मिच्याई गरी सामुदायिक वनको ४० वटा रुख ढालिएको वन कर्मचारीले बताएका छन् । जनज्योती सामुदायिक वन उपभोक्ता समिति निजगढ क्षेत्रबाट ८ वटा साल, २ वटा असना र बाँकी छतिवन, सिन्दुरे, दुधिया, बरो, बाझी, भुर्कट, टाटरी, कुसुम, पान लगायत प्रजातीका गरी ३४ वटा रुख काटिएको छ ।

जनहित सामुदायिक वन उपभोक्ता समिति निजगढ क्षेत्रबाट एउटा भुर्कट र राष्ट्रिय वन क्षेत्रको जंगलबाट २ वटा साल, २ वटा बरो र एउटा टाटरी प्रजातीका गरी ५ वटा रुख काटिएको सव डिभिजन वन कार्यालय निजगढले जनाएको छ ।

सिंगौल स्थित धनसर नदीबाट अवैध रुपमा उत्खनन् गरिरहेको बालुवा, ढुङ्गा तस्करलाई रंगेहात पक्राउ गर्न नदी तर्फ गएको वन रक्षकको टोलीले रुख काटिएको अवस्थामा फेला पारेको हो । रुख ढाल्न प्रयोग गरिएको जेसीबी पहिचान गरी वन अधिकृत समेतलाई जानकारी गराएको एक कर्मचारीले बताए । बरामद भएको जेसीबीको मुचुल्का उठाउन सव डिभिजन वन कार्यालय निजगढका प्रमुख सहायक वन अधिकृत रघुनाथ दासको नेतृत्वमा वनको टोली पिपलटार पुगेको थियो ।

टोलीले मुचुल्का उठाएर जेसीबीलाई निजगढ लैजाने क्रममा घरेलु हातहतियार सहित सिंगौल गाउँका ठूलो संख्यामा आएका स्थानीयले आफूहरुलाई घेरा हालेको वन कार्यालय निजगढका प्रमुख सहायक वन अधिकृत रघुनाथ दासले बताउनुभयो ।  

गाउँलेको घेरामा परेपछि वन टोलीले ईलाका प्रहरी कार्यालय निजगढ, प्रहरी चौकी सिंगौल र सशस्त्र प्रहरी बल निजगढसँग समन्वय गरेर थप टोली जेसीबी राखिएको स्थलमा बोलायो । वन कर्मचारी माथि अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेपछि स्थानीयको भीडलाई रोक्न खोज्दा स्थानीयले प्रहरी माथि नै हातपात गरेको वन कर्मचारीले बताए । भीडले आक्रमण गरेपछि वन कर्मचारी र प्रहरी टोली त्यहाँबाट भागेका थिए । गाउलेले वन कर्मचारीले उठाएको बरामदी मुचुल्का समेत खोसेर लगेको सहायक वन अधिकृत दासले बताउनुभयो । 

गाउँलेले वन कार्यालयको गाडीको सिसा समेत फुटाएको भन्दै उहाँले अहिले गाउँलेबाट आफूहरु असुरक्षित रहेको वन कर्मचारीले बताए । जंगलको बीचबाट निकालिएको झन्डै ७ किलोमिटरको लामो सडकलाई फराकिलो बनाउन अनुमति बिना नै रुख कटान् गरिउको सहायक वन अधिकृत रघुनाथ दासले बताउनुभयो । ढालिएका रुखहरु अहिले सडक छेउमै नम्बरिङ्ग गरी छाडिएको उहाँले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोक, मकवानपुर, काभ्रे, सिन्धुली लगायतका स्थानबाट बसाई सरी आएका तामाङ्ग, गुरुङ्ग, मगर, कछडिया लगायत समुदायका मानिसले वन क्षेत्र अतिक्रमण गरी बस्दै आएको वन कर्मचारीले बताए । उनीहरुले वन क्षेत्रबाट चोरी गरेको काठ दाउरा नियन्त्रण गर्न जाँदा वा नदीबाट झिकिएको बालुवा गिट्टी नियन्त्रण गर्न जाँदा समूह बनाई वन कर्मचारीलाई अवरोध पुर्‍याउने गरेको वन कर्मचारीले आरोप लगाए ।

जनज्योती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष गणेश कार्कीले सडक छेउको रुख काट्ने विषयमा गत वर्ष पनि विवाद भएको बताउनुभयो । ‘घटना घट्छ हामीलाई पहिला देखि नै थाहा थियो,’ उहाँले भन्नुभयो, ‘जिल्ला वन कार्यालयले वास्ता नगर्दा यस्तो घटना हुन गएको हो ।’ सडकमा परेका रुखलाई पन्छाउन कागजी प्रक्रिया पूरा गर्न वन कार्यालयलाई बारम्बार ताकेदा गर्दा पनि चासो नलिएको उहाँले आरोप लगाउनुभयो । वन कार्यालयको हेलचक्रयाँईको कारण सडक छेउको रुख काटिएको उहाँको भनाई छ । 

वनको गोरेटो बाटोलाई २०५३ सालमा स्थानीयले जर्बजस्ती जंगल फाडेर सडक बनाएको वन कर्मचारी श्रोतले जनाएको छ । ‘पहिला बाटो नै थिएन,’ श्रोतले भन्यो, ‘वन मास्ने बस्तीको लागी जर्बजस्ती सडक निकालियो ।’ पुरै घना जंगलको बीचबाट उक्त सडक निकालिएको श्रोतले बतायो । सडक फराकिलो बनाउने नाममा वनको रुख ढालिएको घटनाको अनुसन्धान भईरहेको डिभिजन वन कार्यालय बाराका प्रमुख वन अधिकृत मंजुर आलमले बताउनुभयो ।  

‘सडक निर्माणको लागि सडक विभागले अहिले सम्म उक्त सडकलाई कबोल गरेको देखिंदैन,’ उहाँले भन्नुभयो, ‘सडकमा परेका रुखलाई हटाउन कुनै कानूनी प्रक्रिया चालिएको छैन ।’ वन क्षेत्रमा सडक लगायतका निर्माण कार्य गर्नु पूर्व वातावरणीय प्रभाव मूल्यांकन गरिनु पर्छ । तर, यहाँ केही गरिएको छैन । वनमा जबरजस्ती सडक निकाल्नु वा स्तरोन्ती गर्नु कानून विपरीत भएको उहाँको भनाई थियो । वनमा जथाभावी गर्नेलाई कानूनी कारबाही गरिने उहाँले बताउनुभयो । 

वन कर्मचारी र प्रहरी कर्मचारीलाई घेराहाली हातपात गर्ने विरुद्ध आवश्यक कारबाही गर्न डीएफओलाई निर्देशन दिएको बाराका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणी पोखरेलले बताउनुभयो । ‘कानून मिच्ने कसैलाई छोडिदैन,’ उहाँले भन्नुभयो, ‘मैले स्पष्ट रुपमा सडकको नाममा रुख ढाल्नेलाई कारबाही गर्न डीएफओलाई भनेको छु ।’ दोषीलाई कारबाही गर्न हामीले कसैको कुरा सुन्दैनौं ।’

सवा १० करोडमा टेन्डर :

सडक डिभिजन कार्यालय हेटौंडाले ३३ महिनामा निर्माण कार्य सकिने गरी निजगढ–सिंगौल जोडने ७ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का दिएको छ । पप्पु/रन्जन जेभी कन्ट्रक्सन नयाँ बानेश्वर काठमाडौंले १० करोड २४ लाख २ हजार १ सय ९७ रुपैयाँमा सो सडक निर्माण गर्न ठेक्का साकार गरेको छ ।

२०७४ असार मा सुरु भई २०७६ चैत मसान्तमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का भएको सडकमा झन्डै २ वर्ष पछि निर्माण कार्य सुरु भएको स्थानीयले बताए । सडक निर्माण कतिको लागतमा भईरहेको छ । कुन गुणस्तरमा निर्माण हुने हो । कति लम्बाई र कति चौडाईको सडक हो यो सबै सुचना उल्लेखित बोर्ड ठेकेदार पक्षले निर्माण स्थलमा राखिनु पर्छ तर, यहाँ बोर्ड राखिएको छैन ।

सडक निर्माणको सूचना उल्लेखित बोर्ड राख्न तयारी भईरहेको निर्माण कम्पनीका ईन्जिनियर अभिषेक अधिकारीले बताउनुभयो । ठेक्का सम्झौता अनुसार पूर्व–पश्चिम राजमागको निजगढ देखि सिंगौलसम्म ७ किलोमिटर सडकलाई ७ मिटर चौडाईमा १/१ मिटर सोल्जर अक्सफाल्ड गरी कालोपत्रे गरिने जानकारी दिनुभयो ।  

सडक निर्माणको क्रममा खटिएको ठेकेदार कम्पनीको जेसिबीले वनको रुख नढालेको दाबी ईन्जिनियर अधिकारीले गर्नुभयो । ‘हामीले खाली जग्गामा मात्र निर्माण कार्य गरिरहेका छौं,’ उहाँले भन्नुभयो, ‘सडक फराकिलो बनाउन रुख ढालेका होईनौं ।’ कसको र कहाँबाट ल्याईएको जेसिबीले वनको रुख ढालेको हो आफूलाई जानकारी नभएको ईन्जिनियर अधिकारीले बताउनुभयो ।  

सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख ईन्जिनियर सुमन योगेशले पुरानो अवस्थामा रहेको सडकलाई कालोपत्रे गर्न ठेक्का दिईएको बताउनुभयो । ‘वनको रुख काटेर सडक निर्माण गर्न मिल्दैन,’ उहाँले भन्नुभयो, ‘सडकको रुपमा प्रयोग भईरहेको स्थानमा मात्र कालोपत्रे गर्न भनिएको छ ।’ सडक निर्माण गर्न वनको रुख काटिएको घटनाबारे आफूलाई जानकारी नभएको उहाँले दाबी गर्नुभयो ।  

केन्द्र सरकारले निजगढ–सिंगौल सडक कालोपत्रे गर्न ठेक्का दिएको निजगढ नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत विशकसेन ढकालले बताउनुभयो । ‘यो सडक निर्माण बारे हामीलाई केही जानकारी छैन,’ उहाँले भन्नुभयो, ‘सबै संघीय सरकारले गरिरहेको छ ।’ यसको अनुगमन पनि संघीय सरकारका प्रतिनिधिले गर्ने उहाँले बताउनुभयो । यसमा नगरपालिकाको कुनै संलग्नता नभएको उहाँले स्पष्ट पाुर्नभयो । सडक निर्माण गर्न कुनुनी प्रक्रिया पूरा नगरी वनको रुख काट्न नमिल्ने उहाँले जिकिर गर्नुभयो । 


प्रतिक्रिया