प्रदेश १ का सबै विद्यालयमा प्राविधिक शिक्षा : मुख्यमन्त्री राई

मंसिर ९, २०७६ | तेह्रथुम

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश भित्रै प्राविधिक जनशक्ति उत्पादन गर्न सवै विद्यालयमा प्राविधिक शिक्षा लागू गर्ने बताउनु भएको छ । प्रविधियुक्त जनशक्ति उत्पादन गर्न प्रदेश सरकारको लगानीमा पहिलो पटक यस्तो कार्यक्रम सुरु गर्न लागीएको मुख्यमन्त्री राईको भनाई थियो ।

तेह्थुमको छथर गाउँपालिकाको सिंधुवा शुक्रबारे म्याङलुङ कालेपत्रे सडक र छथर अस्पतालको उद्घाटन गर्न पुगेका मुख्यमन्त्री राईले यस्तो बताउनु भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले शिक्षा क्षेत्रको गुणस्तर सुधार नभए सम्म शैक्षिक जनशक्ति उत्पादन नहुने र भैहालेमा पनि त्यस्तो जनशक्ति बेरोजगार भएर वस्नु पर्ने बताउनुभयो ।

सीपयुक्त युवा जनशक्ति तयार गरी देश भित्रै रोजगारी सिर्जना गर्न प्रदेश सरकारको लगानीमा मुख्यमन्त्री युवा उद्यमशील कार्यक्रम समेत सञ्चालन गरिएको मुख्यमन्त्री राईले बताउनुभयो । मुख्यमन्त्री राईले तेह्रथुम र पाँँचथरको सीमा तमोर नदीमा निर्माण हुने निश्चित भएको ७ सय ६२ मेघावाट क्षमताको तमोर जलाशययुक्त बहुउदेशीय जलविद्युत आयोजना प्रदेशको भविष्यसँग जोडिएको बताउनुभयो ।

‘आयोजना निर्माण हुनेमा सवै जना ढुक्क भए हुन्छ’ मुख्यमन्त्री राईले भन्नुभयो, ‘तपाईहरुको घर आँगनमा निर्माणमा हुने आयोजनाले प्रदेश १ लाई विकासको गतिमा अगाडि बढाउँछ ।’ 

यस अघि मुख्यमन्त्री राईले छथर गाउँपालिका प्रवेशद्वार धनकुटाको सिंधुवामा सडक शिलान्यास गर्नु भएको थियो । १६ किलोमिटर लामो यो सडक खण्डको ७४ करोड ५६ लाख ७१ हजार ३ सय ७६ रुपैयाँ लागतमा एमएस स्वचछन्द आशिस बन्दन भगवती जेभी निर्माण कम्पनीले कालोपत्रे गर्न ठेक्का सम्झौता गरेको छ ।

निर्माण कम्पनीले यो सडकको आगामी ०७९ भदौ ७ गते सम्ममा काम सम्पन्न गर्नुपर्ने जिम्मेवारी पाएको छ । निर्धारित समय भन्दा ६ महिना अगाडि नै काम सम्पन्न गर्न मुख्यमन्त्री राईले निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो । 


प्रतिक्रिया