प्रभावकारी भएन आमा सुरक्षा कार्यक्रम, सुत्केरी आफै किन्छन् औषधि

पुस १८, २०७६ | सिरहा

आमा सुरक्षा कार्यक्रम लागू भएका स्वास्थ्य संस्थामा सुत्केरी गराए बापत सरकारले नि:शुल्क प्रसूति मात्र होइन सुत्केरीलाई यातायात खर्च समेत उपलब्ध गराउँछ । तर, सिरहाको रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा आमा सुरक्षा कार्यक्रम लागू भएपनि सुत्केरीले यातायात खर्च पाउनबाट वञ्चित हुने गरेका छन् । सुत्केरीले नि:शुल्क सेवाको साटो आफैले औषधि किन्न बाध्य छन् ।

सिरहाको सखुवानन्कारकट्टी–३ की पुनमदेवी यादवले राउ स्मारक अस्पतालमा पुस ३ गते छोरा जन्माईन । पुनमको रगतमा नेगेटिभ र नवजात शिशुमा पोजिटिभ रगत देखिएपछि चिकित्सकले प्रसुति भएको ७२ घण्टाभित्रमा एन्टी डी इन्जेक्शन दिनुपर्ने भन्दै पसलबाट किनेर ल्याउन सुझाए । 

नि: शुल्क प्रसूति सेवा भनेको अस्पतालका चिकित्सकले इन्जेक्शन नलगाए अर्को पटक गर्भपतन हुने डर देखाएपछि उनका आफन्तले महँगोमा औषधि किनेर ल्याए । बाहिर पसलमा एन्टी डी इन्जेक्शन एक एम्पुललाई ६ सय रुपैयाँ तिर्नुपर्‍यो ।

पुस ९ गते सोही अस्पतालमा छोरा जन्माएकी लहान नगरपालिका–२४ की मञ्जु कुमारी साह र सोही दिन छोरा जन्माएकी सप्तरी खड्ग–७ की रोशा खातुनलाई पनि आमा र बच्चाको रगत नमिलेको भन्दै चिकित्सकले एन्टी डी इन्जेक्शन किन्न लगाए । 

अस्पतालमा यो औषधि उपलब्ध नभएको बताएपछि उनीहरुले पनि बाहिर महँगो मूल्य तिरेर इन्जेक्शन लगाए । बाहिर पसलेले त्यही औषधि ५ सयदेखि ४ हजार रुपैयाँसम्म मनपरी मूल्य लिने गरेका छन् ।

‘नि :शुल्क प्रसूति सेवा र यातायात खर्च पाईन्छ भनेर अस्पतालमा सुत्केरी गराउन आयौं’ मन्जुले भनिन् ‘यातायात खर्च त पाएनौ नै उल्टै औषधि समेत किन्नु पर्‍यो ।’ 

अस्पतालले अघिल्लो वर्षसम्म जिल्ला जनस्वास्थ्य कार्यालयले एन्टी डी इन्जेक्शन उपलब्ध गराएपनि यसवर्ष त्यो इन्जेक्शन नपठाएकाले बिरामीले आफैले खरिद गर्नु परेको बतायो ।

‘अघिल्लो वर्षसम्म जिल्ला जनस्वास्थ्य कार्यालयले एन्टी डी इन्जेक्शन पठाउँथ्यो, तर यसवर्ष पठाएको छैन’ मेडिकल रेकर्डर अधिकृत बुदुर भगतले भन्नुभयो , ‘पहिला औषधि नहुँदा सुत्केरीले खरिद गरेपनि बिल राख्न भनेका थियौं, पछि बजेट निकासा भएपछि बिल अनुसार रकम दिने गरेका थियौं ।’ 

अहिलेसम्म केही कार्यआदेश नआए पनि सुत्केरीलाई औषधिको बिल राख्न भनेको उहाँले जानकारी दिनुभयो । उहाँले रकम निकासा भए फेरि पनि बिल अनुसार औषधिको पैसा उपलब्ध गराउने जानकारी दिनुभयो ।

त्यसो त औषधि मात्र होइन अस्पतालमा आएका सुत्केरीले यातायात खर्च रकम पाउनबाट समेत वञ्चित छन् । रकम निकासा नभएकै कारण सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा सुत्केरी भएका महिलाहरुले यातायात खर्च पाएका छैनन् । 

अस्पतालको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/०७७ को तथ्यांक अनुसार साउनदेखि पुस १५ सम्म साढे पाँच महिना अवधिमा १ हजार ६ सय ५४ जनाको सामान्य र शल्यक्रिया गरी प्रसूति गरिएको छ । 

ती सबैलाई यातायात खर्चबापत एक हजार रुपैयाँ अस्पतालले उपलब्ध गराउनुपर्छ । तीमध्ये गर्भवती अवस्थामा प्रोटोकल अनुसार चार पल्ट जचाएको कार्ड ल्याए आठ सय थप रकम दिनुपर्ने हुन्छ ।

सरकारले आमा सुरक्षा कार्यक्रम लागू भएका स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाका लागि यातायात खर्च बापत तराईका जिल्लामा एक हजार र गर्भवती अवस्थामा प्रोटोकल अनुसार चार पल्ट जचाएको कार्ड ल्याए आठ सय गरी १ हजार ८ सय रुपैयाँ दिने व्यवस्था गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार स्वास्थ्य महाशाखाले आमा सुरक्षा कार्यक्रम लागू भएका स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य जाँच गराउने तथा प्रसूति गराउनेलाई प्रदेश सरकार मार्फत रकम उपलब्ध गराउने व्यवस्था छ ।

तर, चालू आर्थिक वर्षको ५ महिना बित्तिसक्दा समेत आमा सुरक्षा कार्यक्रमको रकम नआएपछि सुत्केरी महिला यातायात खर्च पाउनबाट वञ्चित छन् । 

अस्पताललाई रकम प्राप्त नभएकैं कारण सुत्केरीको सम्पर्क नम्बर लिएर रकम निकासा भएपछि उपलब्ध गराउँने बाचामा घर पठाउन बाध्य भएको अस्पतालले जनाएको छ ।


प्रतिक्रिया