कोरोना प्रभाव : होलीमा भएन मटका फोर

फाल्गुन २७, २०७६ | सिरहा

कोरोना भाईरसको सन्त्रास र स्थानीय प्रशासनले समेत भिडभाडमा होली पर्व नमनाउन आग्रह गरेपछि यसवर्ष सिरहामा नाचगान सहित बजार तथा सडकमा होली मनाउने घटे । होली पर्वको आगमनसँगै गाइने जोगिरा गीत लोपोन्मुख हुन थालेपछि लहानका मारवाडी युवा र गाउँघरका युवाहरुले घरदैलोमा पुगि जोगिरा गाउँदै मृदङ्गको तालमा नाचेर पर्वलाई जीवन्त बनाउँदै आएका थिए । तर, यसवर्ष विश्वभर कोरोनाको सन्त्रास र स्थानीय प्रशासनले समेत रोक लगाएपनि जोगिरा घन्किएन् ।

मिथिला संस्कृतिमा होली पर्वको बेला गाइने मौलिक जोगिरा गीतमा पाइने मिठासलाई विशेष मनोरञ्जनको रुपमा लिइन्छ । ‘हामीले जोगिराको सम्पूर्ण रुपले वाचन गर्न त सक्दैनौ तर, यस्तो बेला हराइरहेको होलीको मौलिकतालाई पुन: फर्काउन सकिन्छ भन्ने सन्देश दिन वर्षमा एकपटक जोगिरा घन्काउँदै आएका थियौं,’ मारवाडी युवा विकाश शारडाले भने ‘प्रशासनको आदेश र कोरोनाको सन्त्रासका कारण यसवर्ष घरपरिवारमैं होलीलाई सीमित गर्‍यौं ।’

तराई–मधेसमा प्रचलित होलीमा गाइने मौलिक गीत ‘जोगिरा सररर’ लोप हुँदै गएपछि यसको संरक्षणमा बर्सेनी युवाहरु लागिपरेका थिए । आगामी वर्ष सहज वातावरण भए फेरि यसलाई निरन्तरता दिने उनले बताए । होलीदेखि जोगिराको संरक्षण गर्न र मिथिला संस्कृतिलाई केही मात्रामा भए पनि टेवा दिन बर्सेनी प्रयास जारी रहने उनले सुनाए ।

होली पौराणिक कथा र ऐतिहासिक सन्दर्भहरुसँग गाँसिएको रातो रङको बाहुल्य भएको पर्व हो । रातो रंगलाई मानिसको उल्लास, खुशियाली र विजयको प्रतिकको रुपमा लिइन्छ । यो रंगप्रतिको मानिसको आकर्षण नैसर्गिक मानिन्छ । हिमाल, पहाड, तराईका विभिन्न ठाउँ र जातीमा फरक फरक तरिकाले हर्षोल्लासपूर्वक मनाईने होली पर्व ऐतिहासिक अभिलेखमा लिच्छविकालदेखि सुरु भएको पाइन्छ । 

होली खेल्ने अबिर र विभिन्न फूल तथा जडीबुटीबाट बनेका रस र रंगले चर्मरोग निवारण र शीतकालमा उत्पन्न हुने सामान्य रोग निको पार्ने, होली खेलपछि साँझमा बालिने विभिन्न दाउराको आगोको रापले वातावरणमा भएका कीटाणु नाश हुने हुँदा स्वास्थ्य रक्षामा धेरै उपयोगी मानिन्थ्यो । तर, अहिले त्यस्तो अवस्था रहेन । बजारमा अनेक थरी हानिकारक केमिकल प्रयोग गरी रंग खेलिन्छ त्यसले शरीरलाई हानि गरेको पाइन्छ । 

‘अचेल होली विकृत रुपको मनोरञ्जनात्मक पर्वको रुपमा मनाउने चलन विकसित हुँदै गएको छ, जसले गर्दा होलीको मौलिकता, पौराणिकता मेटिने खतरा बढदो छ’ परिवारमैं होलीमा रमाएका शारडाले भने, ‘होली पर्वको मौलिकता जोगाउन प्रत्येक घर घरमा समूहमा जोगिरा गाउँदै सभ्य तरिकाले होली खेलेर यसको तत्व र विशेषतालाई निरन्तरता दिनु पर्छ । यसवर्ष जोगिरा गाएर होली मनाउन नपाएपनि फागुको पीडादायक पक्षलाई उन्मुलन गरी फागुलाई लतपत्याएर होइन, राम्रोसँग श्रृंगार गरी अरु वर्ष होली पर्व मनाउनुपर्छ ।’

समाज शास्त्रीहरुका अनुसार संस्कार, संस्कृति, इतिहास, पुराण बोकेको यो पर्व भावनात्मक हुन सकेको छैन । एक दशक अघिसम्म यो भावनात्मक पर्वको रुपमा लिइन्थ्यो । भलै यसवर्ष कोरोना सन्त्रासका कारण होली उच्छृंखल हुनबाट रोकियो । लहान क्याम्पसका समाज शास्त्र एवं मानव शास्त्रका उपप्राध्यापक सोभितलाल चौधरी सत्य, त्रेता, द्धापर र कलियुगका पौराणिक पक्ष र विभिन्न ऐतिहासिक चरण तथा पाटासंग आवद्ध यो पर्वको व्यापकताले होलीको महत्वलाई प्रस्टयाउने बताउनु हुन्छ ।

 ‘तर युवा पुस्तामा आएको विचलनले यसको मौलिकतामाथि प्रहार हुदै गएको छ, यो गम्भीर चिन्ताको विषय हो’ उहाँले भन्नुभयो, ‘होली विकृत र कुरुप बनाईनु हुन्न यस पर्वलाई भावनात्मक बनाउनैपर्छ, यसमा युवाको सक्रियता सराहनीय छ ।’

उहाँका अनुसार होली पर्व भक्त प्रल्हादको कथासंग पनि जोडिएको छ । मूलत : मिथक नै भएपनि भक्त प्रल्हाद जस्तै चरित्र र दृढविश्वास भएका युगपुरुष नेपालको राजनीतिक क्षेत्रमा खाँचो देखिन्छ । मट्का फोड र जोगिरा होली पर्वको साँस्कृतिक धरोहरहरु भएकाले मिथिला सँस्कृतिमा जोगिरा बिना होली पर्वको रौनकता नझल्कने भएकाले यसको जगेर्नाका लागि पनि युवा पुस्ता अघि बढ्नुपर्ने उहाँको भनाई थियो ।

वर्तमान समयमा होली अथवा फागुपर्वको ऐतिहासिक तथा सांस्कृतिक महत्वप्रति आँखा चिम्लिएर विकृत रुपको मनोरञ्जनात्मक पर्वका रुपमा मनाउने चलन क्रमश : विकसित हुँदै गइरहेकाले पनि यसको मैलिकतालाई जोगाउन जरुरी रहेको उहाँको भनाइ छ ।

भएन मट्का फोड प्रतियोगिता :

होलीको मौलिकतालाई जीवन्त राख्न बर्सेनी लहानमा आयोजना हुँदै आएको मट्का फोड प्रतियोगिता यसवर्ष कोरोना भाइरसको सन्त्रासको कारण रोकिएको छ । ग्लोबल फैण्ड्स एसोसिएसनले बर्सेनी यस प्रतियोगिताको आयोजना गर्दै आएको थियो । 

ग्लोबल फ्रैण्ड्स एसोसिएसनले भट्किलो भन्दै गएको होली पर्वलाई मर्यादित तथा साँस्कृतिक बनाउन ६ वर्षदेखि होली महोत्सव र मट्का फोड कार्यक्रम आयोजना गर्दै आएको छ । तर, यसवर्ष विश्वभरि कोरोना भाइरसको सन्त्रासको कारण प्रतियोगिता स्थगित गरिएको एसोसिएसनले जनाएको छ ।

गाउँघरमा जोगिरा गाइयो :

होलीलाई जीवन्त राख्न सिरहाका गाउँघरमा अविरको टिका लगाएर मात्र जोगिरा गित गाइएको छ । गाउँघरका बुढापाकाले अविरको टीका, मिठो पकवान खाएर जोगिरा गितलाई निरन्तरता दिएको बस्तीपुरका लक्ष्मण साहले बताए । तर, यसवर्ष कोरोना भाइरसको सन्त्रासका कारण अघिल्लो वर्ष जस्तो घरदैंलोमा पुगेर जोगिर नगाइएको उनले सुनाए । ‘बुढापाका एकैथलोमा भेला भएर जोगिरा गाएर होली मनाए,’ उनले भने, ‘संस्कृतिलाई जीवन्त राख्न पनि यसवर्ष एकैथलोमा होली मनाएका हौं ।’


प्रतिक्रिया