भारतबाट फर्केकाहरु क्वारेन्टाईनमा बस्नै मान्दैनन्

चैत्र १५, २०७६ | रौतहट

धान रोप्ने र काट्ने समयमा जिल्लाबाट धेरै मानिसहरु मजदुरीका लागि भारत जान्छन् । त्यसको अलवा मकै र गहुँको सिजनमा पनि पञ्जाब लगायत विभिन्न शहरमा काम गरेर ६/७ महिना पछि घर फर्कन्छन् । कोही लामो समय सम्म उतै बस्छन् । 

जिविकोपार्जनको एउटा दरिलो उदाहरण भारतमा काम गर्ने पनि हो । तर, पछिल्लो समय भारतका विभिन्न राज्यमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि भारतमा कार्यरत नेपालीहरु घर फर्केका छन् । संक्रमण भएको ठाउँबाट आएकाहरु क्वारेन्टाईनमा वस्नु पर्ने हुन्छ । तर, उनीहरु सबै घरमै लुकेर बसेका छन् । अभिभावकले नै लुकाएर राख्ने गरेको पाईएको छ ।

चन्द्रपुर ६ मेथियाहीका सुरज चौधरी भारतको बैंगलोरबाट दुई दिन अघि घर आएका हुन् । तर, उनी त्यही बेलादेखि घरभित्र लुकेर बसेका छन् । शनिबार उनलाई लिन गएको प्रहरी सहायक निरीक्षक टेकबहादुर लामालाई घरमै बस्ने भनेर प्रतिवाद गरे । चौधरीका परिवारका सदस्यले पनि घरमै बस्न दिनुपर्छ भनेर जिद्दी गरे । 

चन्द्रपुर सरकारी अस्पतालले घरमै बस्नु भनेर लेखेर दिएको कागज देखाएर चौधरी पन्छिए । उनले स्वास्थ्य जाँच गराएका छन् । चौधरी त एउटा उदाहरण मात्र हुन् । भारतका विभिन्न शहरबाट घर फर्केको ठूलो संख्यामा मानिसहरु घरमै लुकेर बसेका छन् । 

शनिबारसम्म गौर चन्द्रनिगाहपुर लगायत स्थानमा स्थापना गरिएको क्वारेन्टाईनमा एक महिला सहित ६९ जना बसेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मानिसहरु आफै सचेत हुनुपर्ने । कम्तिमा दुई साता परिवारका सदस्यबाट अलग रहेर क्वारेन्टाईनमा बस्नुपर्नेमा लुकेर बस्ने गर्छन् ।’

प्रजिअ घिमिरले प्रशासनलाई जानकारी भए सम्मका मानिसलाई पायक पर्ने क्वारेन्टाईनमा राख्ने ब्यवस्था मिलाइएको बताउनुभयो । क्वारेन्टाईनमा बसेहरुको अवस्था समान्य रहेको प्रजिअ घिमिरेले जानकारी दिनुभयो । रौतहटबाट रोजगारीका लागि भारत जानेको संख्या १० हजार भन्दा बढी छन् । तर, यसको आधिकारिक तथ्यांक सरकारसँग पनि छैन ।

 कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि विभिन्न नाका हुँदै जिल्ला आएका छन् । ती मध्ये थोरै मात्र स्थानीय प्रशासनको सम्पर्कमा आएर क्वारेन्टाईनम बसेका छन् । बाँकी गाउँ/घरमै लुकेर बसेका छन् । भारतको केरला, मुम्बई, पञ्जाब, नयाँ दिल्ली, पटना लगायत स्थानमा रोजगारीका लागि जानेहरु फर्केर घरमै निर्धक्कले बसेका छन् ।

उनीहरु मध्ये केहीमाथि समाजिक निगरानी बढाईएको प्रशासनले जनाएको छ । जिल्लाको गौर, बंकुल, लक्ष्मीपुर बेलबिछवा, औरैया लगायत भारतसँग सीमा जोडिएको ८ वटा खुला नाका छन् । पछिल्लो समय खुला नाकाबाट केही प्रवेश गरेको पाईएको छ । प्रहरीले भ्याए सम्म त्यस्तालाई नियन्त्रणमा लिने गरेको छ । 


प्रतिक्रिया