म्याग्दीमा एकै ब्यक्तिमा डेंगु र स्क्रब टाईफस

वैशाख ९, २०७७ | म्याग्दी

कोरना भाईरस (कोभिड–१९) संक्रमणको त्रासका बीच म्याग्दीका एक युवामा डेंगु र स्क्रब टाईफसको संक्रमण देखिएको छ । मंगला गाउँपालिका–५ अर्मनको सिर्कुमका १७ वर्षीय एक युवामा लामखुट्टेको टोकाईबाट सर्ने डेंगु र मुसामा हुने किर्नाको टोकाईबाट सर्ने स्क्रब टाईफसको संक्रमण देखिएको बेनी जिल्ला अस्पतालले जनाएको छ ।

ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, जोर्नी दुख्ने जस्ता लक्षण देखिएपछि उनी चार दिन अघि बेनी अस्पताल भर्ना भएका थिए । उनको ल्याब परीक्षण गर्दा डेंगु र स्क्रब टाईफस पोजेटिभ देखिएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश शर्माले बताउनुभयो ।

गत माघ २ गते उच्च ज्वरोबाट ग्रस्त भई जिल्ला अस्पतालमा भर्ना भएकी बेनी नगरपालिका–७ कि ४५ वर्षीया महिलाको रगत परीक्षण गर्दा पनि डेंगु संक्रमण देखिएको थियो । डेंगु र स्क्रब टाईफस एक बिरामीबाट अन्यमा सजिलै सर्ने भएकोले लकडाउनका बेला थप सतर्कता अपनाउन स्वास्थ्यकर्मीले सुझाएका छन् । ‘गर्मी सिजन (मनसुन) सँगै डेंगु देखिन थालेको छ । गत माघमा पनि देखिएको थियो । 

कोरना भाईरस संक्रमण जस्तै लक्षण हुने डेंगुले थप त्रास बढाएको छ’ बेनी अस्पतालका ल्याब टेक्नोलोजिष्ट संजोग तिमिल्सिनाले भन्नुभयो, ‘बेनीमा गाडीका टायरको असुरक्षित ब्यवस्थापन डेंगुको मुख्य चुनौती हो । कोरनासँगै डेंगुको संक्रमणको सामाना गर्ने थप योजना आवश्यक देखियो ।’

बेनी अस्पतालले अभिलेख अनुसार डेंगु परीक्षण सुरु गरेको गत वर्षको भदौ यता मात्र जिल्लामा १४ जनामा संक्रमण देखिएको थियो । डेंगु संक्रमित सबै बिरामी बेनी नगर क्षेत्रका छन् । त्यसैगरी बेनी अस्पताल मै गत पुस तेस्रो साता एक ६६ वर्षीया महिलामा स्क्रब टाईफस भेटिएको थियो । अस्पतालले स्क्राब टाईफस र डेंगुको ल्याब परीक्षण यसै वर्षदेखि सुरु गरेको हो ।

‘हामीले यो वर्षदेखि डेंगु र स्क्रव टाईफसको जिल्लामै ल्याब परीक्षण सुरु गरेका हौं । डेंगुका १४ जना र स्क्रब टाईफसको भने शंकास्पद पहिलो ३ जनामध्य एकमा रोग फेला परेको हो’ बेनी अस्पतालका ल्याब टेक्नोलोजिष्ट तिमिल्सिनाले भन्नुभयो, ‘रोग देखिए पछि डेंगु र स्क्रब टाइफस परीक्षण गर्ने आवश्यक र्‍यापिड डाईग्नोष्टिक टेस्ट गर्ने कीटको ब्यवस्थापन गरेका छौं ।’


प्रतिक्रिया