मध्यरातमा सय बढी नेपालीलाई दशगजामा छाडियो

जेष्ठ २, २०७७ | बर्दिया

बर्दियासँग जोडिएको भारत सिमाना उत्तरप्रदेश राज्य बहराईच जिल्लाको मिहीपुरुवा लगायत ठाउ‘मा क्वारेन्टाईनमा बसेका १ सय २ जना नेपालीेलाई दशगजामा छाडिएको छ । भारतीय सुरक्षाकर्मीले तीन वटा बसमा नेपाली नागरिकलाई बिहीबार राति करीब साढे एघार बजे गुलरियासँग जोडिएको दशगजास्थित मुर्तिहाको सिमानामा छाडेका थिए । 

घना जंगल नजिक सीमा पारि नेपाली अलपत्र परेको जानकारी पाएपछि सदरमुकाम गुलरियाबाट खटिएका सुरक्षाकर्मीले उनीहरुको उद्दार गरेका छन् । ती नेपालीको घरको पहिचान गरी सम्बन्धित स्थानीय तहको क्वारेन्टाईनमा पठाएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो । नेपाल भित्रिएका अधिकांश भारतीय सिमावर्ती सहरका क्वारेन्टाईनमा बसेका थिए । 

१ सय २ जना मध्ये ९८ जना बर्दियाका हुन् । कञ्चनपुरका २, बैतडी र प्युठानका १/१ जना रहेको प्रहरी निरीक्षक शुशिल थापा मगरले जानकारी दिनुभयो । नेपाल फिर्ता पठाउनु अघि क्वारेन्टाईनमा बसेका नानपराका एसडीएम अशोक कुमार र तहशिलदार जिडी त्रिपाठीले मुचुल्का उठाएका थिए । 

शुक्रशार बिहान ३ बजे नेपाल प्रहरीले सबैको सनाखत गरी क्वारेन्टाईन पठाएको थियो । भारतको नानपारा स्थित क्वारेन्टाइनमा ७ सय ४६ जनालाई सम्भवत राति दशगजामा छाडिने भएको छ । 

त्यहाँ बसेका अधिकांश बर्दियाका भएको स्रोतले जनाएको छ । जिल्लामा भारतबाट आउनेलाई मध्यनजर राख्दै ४ हजार बेड भएको क्वारेन्टाईनको व्यवस्था गरिएको छ । भारतमा रेल सेवा सुरु भएपछि नेपालीहरु स्वदेश फर्कने क्रम बढेको छ ।


प्रतिक्रिया