भेरी नदीमा हराएका अर्का एक युवकको शव फेला

सशस्त्र प्रहरीको गोताखोर टोली सोती घटनाका बेपत्ताको खोजी गर्दै । तस्बिर : भीमबहादुर सिंह/ कान्तिपुर । 

जेष्ठ १४, २०७७ | जाजरकोट

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ स्थित भेरी नदीमा हराएका अर्का एक युवकको शव फेला परेको छ । जाजरकोटको भेरी नगरपालिका–११, का १८ वर्षीय लोकेन्द्र सुनारको शव आज दिउँसो भेटिएको हो । 

यसअघि जाजरकोटकै २१ वर्षीय नवराज विश्वकर्मा र १९ वर्षीय गणेश बुढामगर तथा रुकुम पश्चिमका २० वर्षीय टिकाराम नेपालीको शव भेरी नदीमै भेटिएको थियो । चौरजहारी नगरपालिका–१ सोतीकी १७ वर्षीया किशोरीसँग नवराजको प्रेम सम्बन्ध रहेको र उनलाई बिहेका लागी भगाउन गएका युवाहरुलाई गत शनिबार गाउँलेले लखेटेका थिए । 

लखेट्ने क्रममा भेरीमा हामफल्दा उनीहरुको मृत्यु भएको दाबी गाउँलेहरुको छ । तर पीडित परिवारले भने हत्या गरी उनीहरुको शव भेरी नदीमा फालेको आरोप लगाएका छन् । पीडित परिवारले २० जनाविरुद्ध किटानी जाहेरी दिएसँगै रुकुम पश्चिम प्रहरीले वडाध्यक्ष सहित १२ जनालाई पक्राउ गरी घटनाबारे अनुसन्धान गरिरहेको छ ।  

सम्बिन्धत समाचार :

भेरीमा बेपत्ता भएकाको खोजी गर्दै गोताखोर टोली

रुकुम पश्चिममा भएको घटना जातीय विभेदको पराकाष्ठा आयोग


प्रतिक्रिया