बागलुङमा १० जना कोरोना संक्रमित थपिए

जेष्ठ २२, २०७७ | बागलुङ

बागलुङमा थप १० जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । कास्कीको पोखरास्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण भेटिएको गण्डकी प्रदेशका कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका डा. बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो । 

थपिएका मध्ये गलकोट नगरपालिकाका २०, २२ र २३ बर्षका युवाहरु छन् । त्यस्तै बडिगाड गाउँपालिकाका १६, २०, २१ र २५ वर्ष उमेर समूहका युवा रहेका छन् । निसीखोला गाउँपालिकामा भने २२ र २९ वर्षका पुरुष तथा ३३ वर्षकी महिला समेत छिन् । 

स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौका अनुसार उनीहरु सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरु हुन् । स्थानीय जनप्रतिनिधिले पनि उनीहरुलाई साता अघि भारतको सिमानाबाट उद्दार गरेर ल्याएपछि सीधै क्वारेन्टाइनमा राखिएको बताए । गुरौका अनुसार जिल्लामा बुधबार बेलुकी सम्म १ हजार ३ सय ४१ जना क्वारेनटाइनमा छन् । 

संक्रमण देखिएकालाई धौलागिरी अञ्चल अस्पताल ल्याउने तयारी भएको छ । बिहीबार बिहान विज्ञप्ति जारी गर्दै शर्माले गण्डकी प्रदेशमा मात्रै १६ जना थपिएको जनाकारी दिनु भएको छ । उनीहरु सहित गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ । 


प्रतिक्रिया