रुकुम पश्चिमको सोती घटनामा संलग्न थप दुई पक्राउ

जेष्ठ २८, २०७७ | जाजरकोट

रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित सोतीमा ६ जनाको ज्यान जाने गरी भएको घटनामा संग्लग्न थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भेरी नगरपालिका–४ का इन्द्रबहादुर मल्ल सहित २ जनालाई पक्राउ रहेका छन् । 

मल्ललाई प्रहरीले कल डिटेलका आधारमा पक्राउ गरेको हो । बुधबार पक्राउ परेका मल्ल सोती घटनामा संग्लग्न सोती गाउँका मल्ल परिवारका सदस्य हुन् । उनको परिवार विगत लामो समयमा भेरी नगरपालिका–४, गैरीखालीमा बसोबास गर्दै आएको छ । 

मल्ललाई यही जेठ १० गते दिउँसो सोती घटना हुनु पूर्व फोन मार्फत सोती गाउँका मल्ल परिवारलाई नवराज विक सहितको समूह केटी भगाउन त्यसतर्फ आएको भनी सूचना दिएको पीडित परिवारले आरोप लगाएका छन् ।

मल्लले सोती घटनाको केहि दिन अघि पनि तिमीलाई मल्ल ठकुरीको सम्धी बन्ने विचार छ र ? भनी धम्काएको मृतक नवराजका बाबु मुनिलालले बताए । मल्ललाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा पठाएको जाजरकोट प्रहरी प्रमुख किशोर कुमार श्रेष्ठले बताउनुभयो ।

त्यस्तै, प्रहरीले सो घटनामा पक्राउ परेका प्रतिवादीहरुको बयानका आधार सोती गाउँका अर्का ब्यक्तिलाई पनि पक्राउ गरेको छ । पक्राउ परेका ती ब्यक्तिको नाम खुल्न सकेको छैन । बुधबार पक्राउ परेका दुबै जनालाई म्याद थप गरेर आवश्यक अनुसन्धान अघि बढाइने रुकुम प्रहरीले बताएको छ । 

सोती घटनामा संलग्न भएको भन्दै प्रहरीले यसअघि २५ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको छ । चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल, वीरबहादुर मल्ल, प्रकाश मल्लसहित २७ जना प्रहरी हिरासतमा छन् । 

पीडित परिवारले २७ जना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका छन् । जाहेरी परेका मध्य २ जना अझै फरार छन् । जेठ १० गते प्रेमिकालाई बिहे गरेर लैजान भन्दै सोती पुगेका युवामाथि सोतीका गाउँलेले आक्रमण गरेका थिए । 

सोतीका गाउँलेको ढुंगा, चिरपट, लाठी, हसिया लगायत घरेलु हतियार प्रहारबाट नवराज विक, गणेश बुढा मगर, सन्दिप (सञ्जु) विक, लोकेन्द्र सुनार, गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिका–१ का टीकाराम नेपालीको सो घटनामा ज्यान गएको थियो । घटनामा १२ जना घाइते भएका थिए । 

भेरी नगरपालिका–४ का नवराज र रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ की मल्ल थरकी १७ वर्षीया किशोरीसँगको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने उद्देश्यले सोती गाउँ पुगेका युवाहरुलाई तल्लो जातको केटालाई ठकुरीकी छोरी नदिने भन्दै गाउँले आक्रमण गर्दा ६ जनाको हत्या गरेका गरेको थिए । 

सम्बन्धित समाचार :

भेरी नदीमा हराएका अर्का एक युवकको शव फेला

भेरीमा बेपत्ता भएकाको खोजी गर्दै गोताखोर टोली


प्रतिक्रिया